नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन गरे पनि बागलुङ कांग्रेसले भने ७५ हजार रुपैयाँ शुल्क तोकेको छ । बागलुङ कांग्रेसले आकांक्षीहरूले उम्मेदवारको रुपमा सिफारिस हुन आवेदन दिनुपर्ने र त्यसका लागि ७५ हजार रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था गरेको हो । नेता, कार्यकर्ताले भने उम्मेदवारको रुपमा सिफारिस हुनकै लागि चर्को शुल्क तोकिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

केन्द्रीय कार्यालयले १३ भदौमा गरेको सर्कुलरमा उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिनु भन्ने निर्देशन छ । तर, जिल्ला कार्यसमितिले भने ७५ हजार रुपैयाँ शुल्क तोकेर उम्मेदवार बन्न खोज्नेको ढाड सेकेको नेताहरूको गुनासो छ ।नेविसंघ बागलुङका पूर्वअध्यक्ष महेन्द्रप्रसाद कँडेलले केन्द्रीय कार्यालयको निर्देशनविपरीत शुल्क तोकिएपछि केन्द्रमा उजुरी गरिएको बताए ।

जिल्ला कार्यसम्पादन समितिले प्रतिनिधिसभा सदस्य र समानुपातिक उम्मेदवार बन्नका लागि पार्टी कार्यालय भवन बनाउन ६० हजार रुपैयाँ सहयोग गर्नुपर्ने मापदण्ड बनाएको छ । सो शुल्क बुझाएपछि थप १५ हजार तिरेर दरखास्त दर्ता गर्ने प्रावधान राखिएको छ ।

त्यस्तै, प्रदेश सभाका लागि पनि ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने र थप १२ हजार तिरेपछि उम्मेदवारका लागि दरखास्त हुने जिल्ला कार्यसमितिको मापदण्ड छ ।जिल्ला सचिव हरिहर शर्माले भने उम्मेदवार सिफारिस गर्दा पार्टीको भवन निर्माणका लागि सहयोग रकम उठाइएको बताए । उनले कोही त्यत्ति शुल्क तिर्न नसक्ने, तर उम्मेदवारको सिफारिसमा हुनैपर्ने निष्ठावान व्यक्ति भए शुल्क नलिने समेत बताए । उनका अनुसार भवन निर्माणका लागि जग्गा खरिद गरी काम अघि बढाउन ५० लाख रुपैयाँ जम्मा भइसकेको छ । यो समाचार इकान्तिपुरबाट साभार गरिएको हो । 

Leave a Reply