मुस्ताङको थासाङ गाउँपालिका–२, कोबाङमाथिको सानोसरे भीरमा गत जेठ १५ गते तारा एयरको विमान दुर्घटना भयो। उक्त दुर्घटना स्थलमा पहिलो पटक पुग्ने उद्धारकर्तामध्येका एक हुनुहुन्थ्यो– इन्द्रसिंह शेरचन। थासाङ नाउरीकोटका स्थायी बासिन्दा शेरचन अहिले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा मुस्ताङ लेते होटल सञ्चालन गर्दै आउनुभएको छ।

कुनै विपत्ति तथा दुर्घटना भएको थाहा पाएमा उद्धार कार्यमा उहाँ पहिला पुग्नुहुन्छ। कालीगण्डकी कोरिडोर सडकका सुपरभाइजरसमेत रहनुभएका शेरचन कोही कसैलाई अप्ठ्यारो परेमा पनि पुगिहाल्नुहुन्छ। बाढीपहिरो तथा अन्य विपत्का घटनामा पनि अग्रपङ्क्तिमा उहाँ नै खटिनुहुन्छ।

मुस्ताङ लेते होटल एन्ड रेस्टुरेन्ट उहाँको ब्रान्डजस्तै छ। बेनी–जोमसोम–कोराला सडकखण्डअन्तर्गत पर्ने दानामा रहेको उहाँको होटल सडकखण्ड क्षेत्रमै उत्कृष्ट मानिन्छ। यी व्यवसायका अतिरिक्त विपत् कार्यको उद्धार, पुनस्र्थापना र दुर्घटना स्थलमा उहाँ पुग्नैपर्ने ठान्नुहुन्छ। जस्तोसुकै चुनौती आए पनि उहाँका लागि विपत्का बेला सेवा गर्नु धर्म कमाउनु जत्तिकै भएको छ। मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन भन्नुहुन्छ, “इन्द्रजी विपत्मा परेकाका लागि ‘भगवान् इन्द्र’ भएर प्रकट हुन्छन्। समाजसेवालाई मुख्य धर्म मान्दै आउनुभएका इन्द्रसिंह कसैलाई अप्ठ्यारो परेका बेला हात थमथम्याइदिँदा पनि बाँच्नलाई मनोबल पुग्ने बताउनुहुन्छ।

बेनी–जोमसोम सडकखण्डमा हुने दुर्घटना तथा विपत्का घटनामा फसेकाको सारथिका रूपमा पनि शेरचनलाई लिने गरिएको छ। केही भइहालेमा ‘इन्द्रसिंह’लाई बोलाऊ भन्ने धेरै भेटिन्छन्। यतिसम्म कि इन्द्रसिंहले तीन हजारभन्दा बढी यात्रुलाई पिठिउँमै बोकेर सडक पार गराएको घटना अहिले पनि सबैले सम्झने गरेका छन्।

बर्सातको समयमा सडक अवरुद्ध हुँदा समस्यामा परेका यात्रुलाई शेरचनले नै गन्तव्यमा पु¥याइदिनुभएको स्थानीयवासी बताउँछन्। कोभिड–१९ विरुद्धको भ्याक्सिन पनि मुस्ताङ लाने क्रममा सडक अवरुद्ध भएपछि उहाँले नै बोकेर म्याग्दीको दानाबाट मुस्ताङको घाँसामा पु-याउनुभएको जानकारी स्वास्थ्य कार्यालय मुस्ताङका टीकाराम भण्डारीले दिनुभयो।  Source: gorkhapatraonline.com

Leave a Reply