गण्डकी प्रदेशस्तरीय उसु प्रतियोगितामा म्याग्दीले ७ पदक जितेको छ । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा म्याग्दीका खेलाडीले २ स्वर्ण, ३ रजत र २ काँस्य पदक जितेका छन्। प्रतियोगितामा सुशिल कुमार श्रेष्ठले ६५ केजी, दिक्षा राईले ५२ केजीमा स्वर्ण पदक हात पारेका छन् भने ६० केजीमा सवित भण्डारी, समीर किसानले रजत र ४८ केजी र ४६ केजी समुहतर्फ दिपिका राई र निशु बानियाँले कास्य पदक जितेको प्रशिक्षक विकल कँडेलले बताए ।

स्वण पदक विजेता श्रेष्ठ रघुगंगा गाउँपालिका वडा नं २ मा आयोजित नेवारी समुदायको बर्खे नाच अन्तरगत लाखे, नागनागिनी सहित विभिन्न कार्यक्रममा सहभागी भएर हतारहतार पोखरा पुगेका थिए । ‘मैले प्रयाप्त तयारी गर्न पाइन,‘तैपनि स्वर्णपदक प्राप्त गर्न सफल भएको छु,‘राष्ट्रिय खेलमा मैले यो भन्दा राम्रो गर्छु’ उनले भने । श्रेष्ठ सहभागी भएका कुनैपनि प्रतियोगितामा उनी पदक विहिन हुदैनन् ।

उसु खेलमा म्याग्दीलाई सधै पदक दिलाउने श्रेष्ठ आफै प्रशिक्षक समेत बनेर नयाँ खेलाडी उत्पादनमा जुटिरहेका छन् । नेवार समुदायका नाचदेखि खेलसम्म चम्किएका श्रेष्ठले अहिलेसम्म दर्जनभन्दा धेरै पदक जितेका छन् । पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौटमा म्याग्दीले मार्सलआर्ट विधामा राम्रो गरेको छ ।

Leave a Reply