राजधानीको अस्तव्यस्त जीवनबाट केही दिन टाढा हुन मन लाग्यो। अनि कार्यालयबाट केही दिनको बिदा मिलाएर म जन्मभूमि म्याग्दीतिर लागेँ। म्याग्दी आफैंमा बहुल भूगोलको प्रतिनिधित्व गर्ने जिल्ला हो। यसले धान फल्ने फाँटदेखि विश्वको सातौँ अग्लो चुचुरो धौलागिरिसम्मको अनेकौं सुन्दरता समेटेको छ।
काठमाडौंबाट बेनी पुगिसकेपश्चात म्याग्दीको कुन ठाउँ घुम्न जाने भन्ने कुरामा छलफल गर्दा साथी आशिषले भन्यो ‘मोहरे डाँडा जाऔं’। मोहरे डाँडाका विषयमा मैले पनि धेरै सुनेको थिएँ।
म्याग्दीको नागी हुँदै मोहरे डाँडा पुग्ने र त्यहाँबाट पुनहिल, घोरेपानी हुँदै पोखरे बगर झर्ने योजनाका साथ भोलिपल्ट बेनी बजारबाट हाम्रो पैदलयात्रा सुरू भयो।
पहिलो दिन (बेनी-गलेश्वर-बासखर्क-नागी)
विशाल शिलामाथि अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गरी बिहान सात बजे हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं। हाम्रो पहिलो दिनको गन्तव्य थियो- नागी गाउँ।
गलेश्वरबाट केहीबेरको उकालो हिँडेपछि हामी बाँसखर्क पुग्यौँ, लटरम्म फलेका सुन्तलाबारीले त्यस गाउँको सुन्दरतालाई झन् मनमोहक बनाएको थियो।
त्यहाँको चिया पसलमा बसेर चिया पिउँदै गर्दा एउटा कुकुरले हामीलाई अनौठो तरिकाले हेरिरह्यो। साथी आशिषले बिस्कुटको टुक्रा दिएपछि कुकुर हामीनजिक आएर बस्यो।
हामी त्यहाँबाट नागीका लागि उकालो चढ्न लाग्यौं र त्यो कुकुर पनि हामीसँगै पछि लाग्यो। हामीहरूले बाटोमा भेटेको नयाँ कुकुर साथीको नाम तिल्के राखिदियौं।
बाँसखर्कबाट उकालो लागेपछि सानासाना छहरा, खहरेहरू पार गर्दै माथि पुगेपछि घना जंगल सुरू भयो।
जंगलमा तिल्केले कालिजहरू खोजीखोजी लखेट्थ्यो, घना जंगलभित्र पस्थ्यो र फेरि कतैबाट निस्कन्थ्यो। कालिजहरू हाम्रो नजिकैबाट टाउकोमै ठोक्किएलान् झैं गरी उड्थे।
जंगलको झण्डै दुई घण्टा उकालो हिँडेपछि तिल्के अस्वाभाविक रूपमा बाटोबाट तल लाग्यो, हामी भने बाटैबाटो हिँडिरह्यौँ, अचानक हामी आएको बाटोतिर बाघको आवाज आयो, तिल्केको भने आवाज सुनिएन। हामी डरले छिटोछिटो माथितिर लाग्यौं। शरीर हिँडाइले गलेको बेला झण्डै १५ मिनेटको बाटो डरले गर्दा ५ मिनेटमै काटिएछ।
साथी आशिषले भन्यो ‘तिल्केलाई बाघले समात्यो होला’। सँगै आएको नयाँ कुकुर साथी तिल्केलाई बाघले खाएको निश्चय गर्दै दुखसाथ हामी माथि लाग्यौँ।
झण्डै दश मिनेटपश्चात कुकुरको स्याँ स्याँ आवाज महसुस गर्यौं, हामीलाई भ्रम भएको होला भन्दै पछि हेर्दा त तिल्के दौडँदै हामीलाई पछ्याइरहेको थियो।
हामी एकदम खुसी भयौं। साथी आशिषले झोलाबाट बिस्कुट झिकेर तिल्केलाई दियो।
बाटामा देखिएका सुन्दर गाउँहरूले हाम्रो भ्रमणलाई थप रमाइलो र सहज बनाएका थिए। सानो ठाउँमा झुपुक्क परेर बसेका बस्तीहरू अत्यन्त सुन्दर देखिन्थे। हामी केहीबेर ती गाउँ नियाल्थ्यौं र फेरि अगाडि बढ्थ्यौं।
हामी तीन बेलुकाको झण्डै पाँच बजे नागी पुग्यौँ। नागी गाउँ प्रसिद्ध बराह मन्दिर र रोमन म्यागसेसे पुरस्कार विजेता महावीर पुनको गाउँका रूपमा परिचित छ।
विशेष गरी जनैपूर्णिमाका दिन नागी गाउँ भरिभराउ हुन्छ। सो दिन बराह मन्दिरमा मागेका कुरा पूरा हुन्छन् भन्ने चलन छ। त्यहाँ वर माग्ने चलन भने भिन्नै छ।
मन्दिरको छेउमा रहेको दहमा एक पुजारी बसेका हुन्छन्, भक्तजनले के वर माग्ने हो सो कुरा पुजारीलाई भन्छन् र पुजारीले चर्को स्वरमा वर मागिदिन्छन् र त्यस दहको माटो दिन्छन्। पछि मागेको कुरा पूरा भएपछि उक्त दहको माटो फिर्ता लगी सोही दहमा छाडिदिने चलन छ।
नागी बराह मन्दिरको दर्शन गरी हामी बस्ने घरको खोजीमा लाग्यौँ, माथि डाँडामा सामुदायिक लजको सञ्चालनमा रहेछ।
कोरोना कहरपछि पर्यटकहरूको संख्या कम भएका कारण लजका कर्मचारीहरू रहेनछन्।
सामुदायिक लज समितिकी सदस्य दिदी आएर खाना खाने र सुत्ने व्यवस्था गरिदिनुभयो। साउनको महिना दिनभरको मौसम सफा थियो तर राति ठूलो पानी पर्यो। हाम्रो ट्रेकिङको पहिलो दिन अत्यन्त रमाइलो र सम्झनलायक रह्यो।
दोस्रो दिन बिहानको ६ बजे उठेर हामी दोस्रो दिनको पैदलयात्राको लागि तयार भयौं।
नागीको जंगलमा पाइने सिलटिमुर एक स्थानीय जडिबुटी हो, घरबाट हिँड्दा बुवाले ‘मान्एक सिल्टिमुर ल्यार आएस्’ भनेको सम्झिएँ, नागीको वनमा सिल्टिमुर फल्दो रहेछ र स्थानीयहरू त्यसलाई टिपेर राख्दा रहेछन्। एउटा घरमा गएर एक माना सिल्टिमुर किनेँ र झोलामा हालेँ। त्यस घरका एक जना हजुरबाले भन्नुभयो ‘जंगलको बाटो कुकुरलाई सँगै लैजाँदा बाघको डर हुन्छ, बाघले कुकुरको गन्ध सुनेर पछ्याउँछ’ हामी हिजोको घटनाबाट डराएकाले सम्भावित दुर्घटनाबाट बच्न तिल्केलाई नागीमा छाडेर जाने निर्णय गर्यौं।
तिल्केलाई नागीमै छाडेर हामी मोहरे डाँडाका लागि हिँड्यौँ। बाटोमा पुराना व्यवस्थित चौताराहरू बनाइएका थिए र त्यसमा शिलालेख पनि बनाइएको थियो।
हिँड्दै गर्दा बाटोमा थुप्रै दोबाटाहरू आउँथे ती बाटो ठम्याउन हामी परको अग्लो पहाड पछ्याउँथ्यौं।
गुराँसको घना जंगलभित्र चारैतिर चराहरूको आवाज सुनिन्थ्यो। रातभर पानी परेकाले खुट्टाभरि जुका लागे पनि हामी आफ्नो गन्तव्यतर्फ हिँड्दै थियौँ।
पर्यटकहरू नआएका र स्थानीयहरू पनि झण्डै पाँच महिनादेखि नहिँडेकाले बाटोभरि झाडी थियो सो कुरा पहिल्यै थाहा पाएकाले हामीहरू हँसिया बोकेर झाडी फाँड्दै अगाडि बढ्यौँ।
बाटोमा साना साना खोलाहरु बगिरहेका थिए, कतै ती खोलाहरू पार गर्न काठमा मौलिक खाले पुलहरूको निर्माण गरिएको थियो।
झोलामा बोकेका खानेकुरा खाँदै हामी हिँडिरह्यौँ।
नागीबाट झण्डै पाँच घण्टाको यात्रापछि हामी पुग्यौँ जलजला, एउटा सुन्दर स्थान जहाँबाट म्याग्दी र पर्वतका विभिन्न स्थान देखिन्थे। यही ठाउँको नामबाट पर्वतको एउटा स्थानीय तहको नाम जलजला गाउँपालिका राखिएको छ।
चिसो हावा र लेकाली फूलहरूको वासनाले हाम्रो यात्रालई झनै रमाइलो बनाइरहेको थियो।
जलजलाबाट ३ घण्टाको यात्रापछि हाम्रो मुख्य गन्तव्य मोहरे डाँडा पुग्यौँ। ३३१० मिटरको उचाइमा रहेको मोहरे डाँडाबाट फेवाताल स्पष्ट देख्न सकिँदो रहेछ।
म्याग्दी, पर्वत, बाग्लुङ र कास्कीका थुप्रै गाउँहरू पनि देख्यौं। मोहरे डाँडामा रहेको सामुदायिक लजमा पुगेर खाजा खायौं।
झण्डै १०० भन्दा बढी पर्यटक अटाउन सक्ने गरी निर्माण गरिएको उक्त सामुदायिक लजमा नागी घर भएका एक जना दाइ पाँच महिनादेखि घर नगई त्यही लज सञ्चालन गरी बस्नुभएको रहेछ।
वरिपरि हिमालहरू देखिने सुन्दर ठाउँ मोहरे डाँडा पर्यटकहरूले मन पराएको गन्तव्य स्थल हो।
पुनहिल र घोरेपानीबाट नजिक भएका कारणले पनि यस ठाउँमा पर्यटकहरू धेरै संख्यामा आउने रहेछन्, तर कोरोना कालपछि केही पर्यटकहरू मात्र मोहरे डाँडा आएको लजका दाइले बताउनुभयो।
लामो हिँडाइले थकित, जुकाले खाएका खुट्टाहरू पुनहिल हुँदै घोरेपानी पुग्ने दृढताका साथ अगाडि बढे।
भैंसी र गाईहरू पाल्ने ससाना गोठहरू तथा मन्दिरहरू, झरना र साना खोलाहरू हुँदै केही घण्टाको हिँडाइपछि हामी पुनहिल पुग्यौँ।
पुनहिल नेपालकै एक प्रसिद्ध पर्यटकीय स्थल हो।
धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरिजस्ता हिमालहरूको दृश्यावलोकन गर्न सकिने सुन्दर ठाउँका रूपमा पुनहिल प्रसिद्ध छ। त्यो दिन बादलले हिमालहरू सबै छेकेको कारण त्यहाँको वास्तविक सुन्दरताको साक्षी हुन सकिएन।
त्यहाँबाट आधा घण्टा झरेपछि हामी घोरेपानी पुग्यौँ।
चारैतिर गुराँसको जंगलले घेरेको घोरेपानी अत्यन्त सुन्दर बस्ती रहेछ। घोरेपानीमा धेरै होटलहरू खुलेका रहेछन् तिनैमध्येको एउटा होटलमा बस्यौँ।
तेस्रो दिन बिहान होटलकी दिदीले ढोका ढकढक्याउँदै भन्नुभयो ‘भाइ तपाईंहरू त लक्की हुनुहुँदो रहेछ, धेरै दिनपछि वेदर खुल्यो हिमालहरू देखिएको छ’।
त्यो सुनेपछि हामी हतारहतार कपडा लगाएर पुनहिलतिर हिँड्यौं, हिजो बादलले धुम्म भएका हिमालहरू आज स्पष्टसँग देखिएका थिए।
बिहान घाम झुल्केको दृश्य झनै मनमोहक थियो। हामी वास्तवमै भाग्यमानी रहेछौँ।
पुनहिलको झण्डै एक घण्टे बसाइपछि हामी फेरि घोरेपानी झर्यौं। बिहानको खाजा खाएर तेस्रो दिनको गन्तव्य बेनी बजारका लागि हिँड्यौँ। बाटोमा रहेका शिख, घारा लगायतका रमाइला गाउँ हुँदै हामी कालीगण्डकीको किनारमा रहेको पोखरेबगर पुग्यौँ।
जोमसोमबाट बेनीका लागि हिँडेको गाडीमा चढेर बेनी बजार पुग्यौँ।
त्यसछि एकदिन विश्राम गरी हामी फेरि पाँच दिने पैदल यात्रामार्फत् ढोरपाटन पुग्ने योजनाका साथ हाम्रो यो ३ दिने भ्रमण अन्त्य गर्यौं। यो भ्रमणले म्याग्दीका सुन्दर ठाउँसँग परिचित हुने अवसर मिलायो र जीवनकै रमाइला र सम्झनलायक क्षण प्रदान गर्यो। वास्तवमै भ्रमण सोचेभन्दा रमाइलो भयो।