बेनी अस्पतालको ५० शैया क्षमताको भवन अलपत्र पारेर निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह हराएको भन्दै नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय यूवा संघले सूचन विद्युतको पोल र भित्तामा टाँसेर विरोध अभियान सुरू गरेको छ ।

महासंघकै अध्यक्ष सिंह सञ्चालक रहेको महादेव खिम्तीले गल्वा–रफिनासँग साझेदारी गरेर ठेक्का बनिसक्नुपर्ने समयमा मुस्किलले आधा मात्रै प्रगति भएको भन्दै एमालेका भात्रृ संगठनले पहिलो चरणको आन्दोलन सुरू गरेको छ । जिल्लाको एकमात्र अस्पतालको भवन अलपत्र पारेर सम्पर्कविहिन भएपछि अध्यक्ष सिंहको तस्वीर र मोवाइल नम्बर चोक र अनि भिन्न स्थानमा छ्याप्छ्याप्ती टाँसेर बिरोधका कार्यक्रम घोषणा गरेको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एबम म्याग्दी जिल्ला इन्चार्ज सुबास बिश्वकर्माले बताए ।

‘अस्पताल अलपत्र पारेर ठेकेदार फरार भएका छन्, अब आन्दोलनका अन्य कार्यक्रमहरु पनि सार्वजनिक गछौं, अस्पतालको भवन अलपत्र पार्नेलाई छोड्दैनौ’ विश्वकर्माले भने । यूवा र विद्यार्थी संगठनले विरोधस्वरुप ठेकेदार सिंहको तस्बिरअंकित पोस्टरले सामाजिक सञ्जालमा तरंग ल्याइदिएको छ । ५० सैयाको अस्पतालको भवन अलपत्र परेपछि अस्पतालले प्रदेश र मन्त्रालयबाट प्राप्त गर्ने विभिन्न अवसरबाट बन्चित भएको अवस्थामा विद्यार्थी र यूवा संगठनले दवावमुलक कार्यक्रम सुरू गरेका छन् ।

अस्पतालको भवन अलपत्रलाई लिएर ब्यवस्थापन समिति र चिकित्सकले समेत विभिन्न कार्यक्रममा आक्रोश पोख्ने गरेका थिए । ठेकेदारले अस्पताल लथालिङ पारेर छोडेपछि यस्तो बाटो अपनाउन बाध्य भएको विद्यार्थी नेताको भनाई छ । ठेकेदार सिंहले २४ करोड ४ लाख २९ हजार ८ सय ६९ लागत अनुमान गरिएको भवन १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का लिएका थिए। ठेक्का सम्झौतामा २०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य भएपनि अहिलेसम्म करिब ५० प्रतिशतको हाराहारीमा काम भएको छ ।

४ हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवन निर्माणमा ठेकेदारले विभिन्न समयमा लिखित र मौखिक प्रतिबद्धताअनुसार भवन निर्माणलाई गति दिन नसकेपछि कालोसूचीमा राख्ने प्रक्रिया थाल्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले पत्रसमेत काटेको थियो ।

भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेकेदार कम्पनीलाई निर्माणकार्य सम्पन्न गर्नका लागि हालसम्म करिब डेढदर्जन भन्दा बढी पत्रसमेत काटेको छ । ५० शैया क्षमता भए पनि हाल अस्थायी संरचनाबाट बिरामीलाई सेवा दिइरहेको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए । ‘भवन सम्पन्न नहुदाँ म्याग्दीले धेरै अवसरहरु गुमाएको छ,‘समयमै भवन बनेमा सरकारी निकायबाट आउने धेरै अवसरहरु प्राप्त गर्न सक्छौ’ डा. कँडेलले भने । पटकपटक ताकेता र समन्वय गर्दा समेत निर्माण व्यवसायी काममा नफर्किएको अस्पतालले जनाएको छ ।

 

Leave a Reply