शनिबार नेपाली काँग्रेस बागलुङले बागलुङका दुबै प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवार आकांक्षीहरुको नामावली संकलन गरी सिफारिस गर्‍यो। बागलुङ क्षेत्र नम्बर २ को सिफारिसले भने बागलुङमा मात्रै होइन केन्द्रीय राजनीतिमै चर्चा पायो।

नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको समेत उम्मेदवारी दर्ता भएपछि बागलुङको राजनीतिमा हलचल मच्चिएको हो। आरजु राणा देउवाको बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी परेपछि त्यसको बारेमा विभिन्न टिका टिप्पणीहरु भैरहेका छन्।

महिला उम्मेदवार अघि सार्नुपर्ने भए पनि जिल्लाकै महिला सार्नुपर्ने, जिल्लाकै नेताहरु हुँदा हुँदै बाहिरका व्यक्तिलाई उम्मेदवारको रुपमा अगाडि सारिएको भन्दै आलोचना पनि भएको छ। अघिल्लो पटक बाम गठबन्धन हुँदा नेकपा माओवादी केन्द्रका नेता एवं शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका थिए।

अघिल्लो निर्वाचनमा आफ्नो उम्मेदवारले जितेको क्षेत्र भएकाले पनि अहिले पनि आफ्नै भागमा पर्नुपर्ने माओवादी नेता कार्यकर्ताले तर्क गर्ने गरेका छन्। बागलुङ क्षेत्र नम्बर १ का देबेन्द्र पौडेल निर्वाचित भएपछि क्षेत्र नम्बर २ लाई वेवास्ता गर्ने गरेको र आफ्नै क्षेत्रको उम्मेदवार हुनुपर्ने तर्क त्यस क्षेत्रमा बलियो छ।

सत्ता साझेदार दलहरुबीचको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै संगै लैजाने निर्णय गरेर केन्द्रमा सिट भागबन्डामा दलहरु व्यस्त छन्। बागलुङ क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसले आरजु राणा देउवाको नाम समेत प्रतिनिधि सभा उम्मेदवारको सिफारिसमा राखेर पठाएपछि सबैभन्दा बढि दबाबमा माओवादी केन्द्र परेको छ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले गठबन्धन गर्दा पनि क्षेत्र नम्बर २ लाई काँग्रेसको भागमा पार्न काँग्रेस केन्द्रमा दबाब दिने निर्णय गरेपछि माओवादी दबाबमा परेको हो। काँग्रेस क्षेत्रीय समितिले आफ्नै उम्मेदवार क्षेत्रमा उठाउनुपर्ने निर्णय गर्दै केन्द्रमा धर्ना दिने निर्णय गर्ने र उम्मेदवारको रुपमा प्रधानमन्त्री पत्नी आरजुलाई समेत सिफारीस गर्नुले माओवादी दबाबमा परेको देखिन्छ।

दलहरुबीच विगतमा सम्बन्धित दलले जितेको क्षेत्रमा उक्त दलको उम्मेदवार नै कायम राख्ने र एमालेले जितको ठाउँमा भागबण्डा गर्ने विषयमा छलफल चलिरहँदा काँग्रेसको निर्णयले दबाबमा परेको माओवादी केन्द्रले त्यसको काउण्टरमा प्रचण्ड कार्ड फालेको छ।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उम्मेदवार बन्नका लागि पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने निर्णय नेकपा माओवादी केन्द्रले गरेको छ। नेकपा माओवादी केन्द्र बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा क को समन्वय समितिको बुर्तिबाङमा बसेको बैठकले माओवादी अध्यक्ष प्रचण्डलाई बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न आग्रह गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र बागलुङका जिल्ला संयोजक राजिव घिमिरले बताए।

‘प्रदेश निर्वाचनमा को उम्मेदवार बनाउने भन्ने बारेमा हामीले घनिभूत रुपमा छलफल गरेका छौं,’ उनले भने,‘प्रतिनिधि सभाको उम्मेदवारको रुप्मा भने अध्यक्ष प्रचण्डलाई अगाडि सार्ने र उहाँलाई यहाँको उम्मेदवार बन्नका लागि आग्रह गर्ने सर्वसम्मत निर्णय भएको छ।’ नेकपा माओवादी केन्द्रका बुर्तिबाङ क्षेत्र संयोजक प्रेम घर्तीको अध्यक्षतामा बसेको बैठकले जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य बलावती शर्माको उपस्थीतिमा उक्त निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले पनि प्रचण्डलाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउनुपर्ने सुझाव आएको बताए।

‘अध्यक्ष कमरेडलाई प्रतिनिधि सभामा बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउनुपर्ने सुझाव आएको छ,’ उनी भन्छन्,‘प्रदेश सभा सदस्यको उम्मेदवारको विषयमा भने गण्डकी प्रदेश कमिटिको बैठकले निर्णय गर्नेछ।’ नेपाली काँग्रेसले आरजु राणा देउवालाई उम्मेदवार सिफारिस गरेपछि काउन्टरमा माओवादीले प्रचण्ड कार्ड फालेको चर्चा हुन थालेको छ।

Leave a Reply