बेनी अस्पतालको ५० शैया क्षमताको भवन अलपत्र पारेर निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह हराएको भन्दै नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय यूवा संघले सूचना विद्युतको पोल र भित्तामा टाँसेर विरोध अभियान सुरू गरेको छ।

महासंघकै अध्यक्ष सिंह सञ्चालक रहेको महादेव खिम्तीले गल्वा–रफिनासँग साझेदारी गरेर ठेक्का बनिसक्नुपर्ने समयमा मुस्किलले आधा मात्रै प्रगति भएको भन्दै एमालेका भात्रृ संगठनले पहिलो चरणको आन्दोलन सुरू गरेको छ। जिल्लाको एकमात्र अस्पतालको भवन अलपत्र पारेर सम्पर्कविहीन भएपछि अध्यक्ष सिंहको तस्बिर र मोवाइल नम्बर चोक र अनि भिन्न स्थानमा छ्याप्छ्याप्ती टाँसेर बिरोधका कार्यक्रम घोषणा गरेको अनेरास्ववियूका केन्द्रिय सदस्य सुवास विश्वकर्माले बताए।

‘अस्पताल अलपत्र पारेर ठेकेदार फरार भएका छन्, अब आन्दोलनका अन्य कार्यक्रमहरु पनि सार्वजनिक गछौं, अस्पतालको भवन अलपत्र पार्नेलाई छोड्दैनौ’ अध्यक्ष विश्वकर्माले भने। यूवा र विद्यार्थी संगठनले विरोधस्वरुप ठेकेदार सिंहको तस्बिर अंकित पोस्टरले सामाजिक सञ्जालमा तरंग ल्याइदिएको छ। ५० सैयाको अस्पतालको भवन अलपत्र परेपछि अस्पतालले प्रदेश र मन्त्रालयबाट प्राप्त गर्ने विभिन्न अवसरबाट बन्चित भएको अवस्थामा विद्यार्थी र यूवा संगठनले दवावमुलक कार्यक्रम सुरू गरेका छन्।

अस्पतालको भवन अलपत्रलाई लिएर व्यवस्थापन समिति र चिकित्सकले समेत विभिन्न कार्यक्रममा आक्रोश पोख्ने गरेका थिए। ठेकेदारले अस्पताल लथालिङ पारेर छोडेपछि यस्तो बाटो अपनाउन बाध्य भएको विद्यार्थी नेताको भनाइ छ। ठेकेदार सिंहले २४ करोड ४ लाख २९ हजार ८ सय ६९ लागत अनुमान गरिएको भवन १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का लिएका थिए।

ठेक्का सम्झौतामा २०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य भएपनि अहिलेसम्म करिब ५० प्रतिशतको हाराहारीमा काम भएको छ। ४ हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवन निर्माणमा ठेकेदारले विभिन्न समयमा लिखित र मौखिक प्रतिबद्धताअनुसार भवन निर्माणलाई गति दिन नसकेपछि कालोसूचीमा राख्ने प्रक्रिया थाल्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले पत्रसमेत काटेको थियो।

भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेकेदार कम्पनीलाई निर्माण कार्य सम्पन्न गर्नका लागि हालसम्म करिब डेढदर्जन भन्दा बढी पत्रसमेत काटेको छ। ५० शैया क्षमता भए पनि हाल अस्थायी संरचनाबाट बिरामीलाई सेवा दिइरहेको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए।‘भवन सम्पन्न नहुदाँ म्याग्दीले धेरै अवसरहरु गुमाएको छ,‘समयमै भवन बनेमा सरकारी निकायबाट आउने धेरै अवसरहरु प्राप्त गर्न सक्छौ’ डा. कँडेलले भने। पटकपटक ताकेता र समन्वय गर्दा समेत निर्माण व्यवसायी काममा नफर्किएको अस्पतालले जनाएको छ।

अस्पतालको वार्षिक समिक्षा, अलपत्र भवन मुख्य समस्या

बेनी अस्पतालले आर्थिक बर्ष २०७८/०७९ को वार्षिक प्रगती विवरण समिक्षा गोष्ठीमा अलपत्र भवनका कारण गुणस्तरीय सेवा विस्तारमा समस्या भएको बताइएको थियो। २०४६ सालमा स्थापना भएको यस अस्पतालले २०७२ सालमा ५० शैयाको अस्पतालमा स्तरोन्नती भएपनि भवन समयमै सम्पन्न नहुदाँ हातमै आएको अवसर समेत सदुपयोग गर्न नपाएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए। समयमै भौतिक पूर्वाधार नबन्दा स्वास्थ्य सम्बन्धी सबै सेवाहरु गुणस्तरीय रुपमा सेवाग्राहीलाई दिन नसकेको अस्पताल प्रमुख डा. कँडेलले बताए।

अस्पतालले पुरानो र अस्थायी संरचना बनाएर स्तनपान कक्ष, सामाजिक सेवा इकाई, बच्चा वार्ड, अक्सिजन प्लान लगायतको स्वास्थ्य सेवाहरु व्यवस्थापन गरिएको डा. कँडेलको भनाइ छ। अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरेर श्रावण महिनामा गरिव, जेष्ठ नागरिक, अपाङ्ग र प्राकृतिक प्रकोप लगायतका ४१ जनालाई निशुल्क सेवा दिएको दिइएको छ।

आईसीयु सेवा संचालनको लागि जनशक्ति व्यवस्थापन गर्न पालिकाले आर्थिक सहयोग गर्ने वातावरण तयार गर्न जनप्रतिनिधिलाई डाक्टर कंडेलले अनुरोध गरे। समिक्षा गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले नीतिगत/कानुनी समस्यासंगै ठेकेदारको लापरबाहीले अस्पतालको भवन अलपत्र परेकाले अब थप दबाब दिने बताए।

स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्साल,नेकपा माओवादी केन्द्रका बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसी र अस्पताल व्यवस्थापन समितिका सदस्य दुर्गाराम सुवेदी, जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरु मिलेर अस्पतालको भवन छिटो सम्पन्न गराउने वातावरण तयार गर्नुपर्ने बताए। पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतमले राजनीतिक दलकै संरक्षण भएकाले भवन अलपत्र परेको बताए।

वार्षिक समीक्षा गोष्टीमा गत आर्थिक वर्ष सुरक्षीत मातृत्व सेवा ७९९ जनाले लिएका छन् भने गर्भपतन सेवा ३५४ लिएको अस्पतालले जनाएको छ। गतवर्ष २०३ महिला र ४५ जना पुरुषको सफल अप्रेशन भएको छ भने हाल दरबन्दी २४ जनामध्ये १३ जना कार्यरत छन भने १२ जना अध्ययन विदामा रहेको जानकारी गराइएको थियो।

Leave a Reply