म्याग्दीको धवलागिरि गाउँपालिका-७,ताकममा निर्माणधिन अवस्थामा रहेको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ। निर्माण सम्पन्न हुने समय अवधिमा आइपुग्दा समेत भवन अलपत्र छोडेर ठेकेदार भागेको स्थानीयले गुनासो गरेका छन् ।

संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार पाँच शय्या क्षमताको अस्पतालका लागि दुईतले भवन निर्माण सुरु गरिएको अवस्थामा कोरोना र विभिन्न बाहना बनाएर ठेकेदार भागेको स्थानीय यूवा प्रगति कार्कीले बताए ।

‘भवन छोडेर ठेकेदार भागेपनि सम्बन्धित निकायले चासो देखाएको छैन,‘सबै टुलुटुलु हेरेर बसेका छन’ कार्कीले भने । उक्त भवन निर्माणका लागि बिएम आइएस एसी जेभी बुर्तिबाङ बागलुङले चार करोड भन्दा माथीको लागतमा ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदारले कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान डिपिसी को काम सम्पन्न गरेको अवस्थामा हाल ठेकेदार सम्पर्कबाहिर रहेको स्वास्थ्य चौकी इन्चार्ज लोकनाथ पौडेलले बताए । उनका अनुसार ठेकेदारले काम छोडेर गएपछि अलपत्र परेको बताए। विसं २०७७ पुसमा भएको धवलागिरिको विशेष गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो।

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको अवस्थामा ठेकेदारलाई ताकेता गरिएको गाउँपालिका अध्यक्ष प्रेम पुनले बताए। उनले पटकपटक निर्देशन दिदाँ समेत अटेर गरेको भन्दै अव प्रक्रियामै जानुपर्ने अवस्था आएको बताए। उक्त भवन आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । ठेकेदारले छोडेका निर्माण साम्रागी समेत दुरुपयोग भएको छ ।

Leave a Reply