अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

घोरेपानीमा सञ्चालित नेतृत्व विकास तथा उद्घोषणकला तालिम सकियो

On: September 5, 2022 10:28 AM
Follow Us:
---Advertisement---

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, घारस्थित पर्यटकीयस्थल घोरेपानीमा सञ्चालित नेतृत्व विकास तथा उद्घोषण कलासम्बन्धी तालिम सकिएको छ । अन्नपूर्ण गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना र घोरेपानी आमा समूहको सहआयोजनामा तालिम सञ्चालन गरिएको थियो ।

छ दिनसम्म चलेको तालिममा व्यक्तित्व तथा नेतृत्व विकास, उद्घोषण एवं भाषणकला, सकारात्मक सोच, क्षमता अभिवृद्धि, वैठक सञ्चालन, माइन्युटलेखन लगायतका विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो । आमा समूह, युवा क्लब, होटल व्यवसायी, टोल विकास समितिलगायत सहभागी तालिमको पोखराका पत्रकार, अधिवक्ता तथा प्रशिक्षक सुष्मा पौडेल र म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

तालिमको समापन सत्रलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले तालिममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले अन्नपूर्ण गाउँपालिकाले अन्य शाखाको तुलनामा महिला तथा बालबालिका शाखालाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको जानकारी दिँदै पालिकामार्फत आगामी दिनमा सबै वडामा क्षमता अभिवृद्धि, सचेतनामूलक तालिम तथा गोष्ठीलगायत कार्यक्रमहरु सञ्चालनमा जोड दिइने बताउनुभयो ।

तालिमका प्रशिक्षकद्वय पौडेल र बानियाँले अब बल्ल सहभागीहरुको तालिमसँगै परीक्षा सुरु भएको बताउँदै तालिमले उद्घोषणकलाको साथमा व्यक्तित्व र नेतृत्वको विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षकद्वयले तालिमपछि आगामी दिनमा समेत निरन्तर अभ्यास गरिरहनुपर्ने बताउँदै आवश्यकताअनुसार सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

समापनसत्रमा अन्नपूर्ण गाउँपालिकाका इन्जिनियर ईश्वर भण्डारी, घारका वडा सदस्यद्वय पुष्पा बानियाँ बरुवाल र चिनबहादुर पुनले मन्तव्य व्यक्त गर्नुभएको थियो भने तालिमका सहभागीहरु सबैले अनुभव सुनाएका थिए ।
कार्यक्रम घारका वडा अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता, घोरेपानी आमा समूहका सचिव निता पुनको स्वागत, तालिमका सहभागीद्वय भीमबहादुर गर्बुजा र तारा पुनको सञ्चालनमा सम्पन्न भएको थियो । तालिमका सहभागीहरुलाई गाउँपालिकामार्फत प्रमाणपत्र वितरण गरिएको थियो ।