नेकपा एमाले म्याग्दी जिल्लाको तर्फबाट आसन्न प्रतिनिधिसभा सदस्यको लागि हरिकृष्ण श्रेष्ठको एकल नाम सिफारिस भएको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले निवर्तमान पार्टी अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई सर्वसम्ममा उम्मेदवार सिफारिस गरेको हो ।

पार्टीमा दुई कार्यकाल जिल्ला अध्यक्ष सहित लामो समयसम्म लाभको पदबाट टाढा रहनुभएका श्रेष्ठलाई जिल्ला कमिटी, प्रदेश कमिटीका सदस्य सहितको बैठकले आगामी निर्वाचनमा एमालेबाट उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेले जनाएको छ ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय श्रेष्ठ नेपाल रेडक्रस सोसाईटीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । नेकपा एमालेको प्रदेशसभा सदस्यका लागि आंकाक्षीको लर्को लागेको अवस्थामा प्रतिनिधिसभा सदस्यमा पनि केही आकांक्षी रहेको अनुमानलाई गलत सावित गदैं एमालेले पहिलोपटक सर्वसम्मतले उम्मेदवार चयन गरेको हो ।

यसअगाडी पहिलो संविधानसभा, दोस्रो संविधानसभा, प्रतिनिधिसभा सदस्यका उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको थियो ।‘सर्वसम्मत उम्मेदवारले एमालेलाई एकताको सन्देश दिएको छ,‘अब चुनावी अभियान रफ्तारमा जान्छ’ बैठकमा सहभागी एक नेताले भन्नुभयो।

एमालेले प्रदेशसभा र समानुपातिकका लागि भने नाम टंगो लगाएको छैन् । यता गठबन्धनको तयारीमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितका दललाई समेत एमालेको एकल उम्मेदवारीले दवाव पुगेको छ । उम्मेदवार छनौट सहित चुनावी अभियानमा निस्कने तयारीमा एमाले जुटेपनि नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठबन्धनको उम्मेदवारको नाम सिफारिस गरिएपनि कसले टिकट पाउँछ भन्ने निश्चित छैन् ।

Leave a Reply