‘धन देख्दा महादेवको पनि तीन नेत्र’ । नेपाली समाजमा प्राचिनकाल देखिनै प्रचलित यो भनाई धेरै नेपालीको आनिबानीसंग मेल खान्छ । सडकमा भेटाएको गरगहाना, नगदलाई त भाग्यले जुराएको भन्नेहरू पनि छन् तर, म्याग्दीकी एक यूवतीले यो भनाईलाई चुनौती दिदैं बाटोमा भेट्टाएको सुन सम्बन्धित ब्यक्तिलाई खोजेर हस्तान्तरण गर्नुभएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ भगवती कटुवालटोलकी सजना केसीले पर्वतको जलजला गाउँपालिका वडा नं २ निवासी सागर अधिकारीलाई प्रहरीको उपस्थितीमा फिर्ता गर्नुभएको हो ।

बेनी नगरपालिका अन्तरगतको हिंसा प्रभावितका लागि आपत्कालिन केन्द्रकी प्रमुख समेत रहनुभएकी केसीलेविद्युत प्राधिकरण नजिकै गणेशमन्दिरमा भेटिएको १ तोलाको सिक्रीलाई तत्कालै सामाजिक सञ्जालमा राखेर दावी गर्न अनुरोध गर्नुभएको थियो ।

‘उहाँलाई हस्तान्तरण गर्दा निकै खुसी छु,‘यो मानवीय जिम्मेबारी समेत हो, कुनैदिन मेरो पनि हराउन सक्छ, त्यसैले अर्काको धनमा खुसी हुनु मानवीय धर्म होईन्’ केन्द्र प्रमुख केसीले भन्नुभयो ।

पछिल्लो समय समाजमा अर्काको कमाई चोरेर खाने, ठगि गर्ने जस्ता गतिविधि मौलाइरहेको अवस्थामा आफुँले समाजलाई नै सन्देश दिने प्रयास गरेको समेत बताउनुभयो । प्रहरीले समेत सुन भेटाएर दिने केसीलाई धन्यवाद दिएको छ भने हराएर फेला पारेका अधिकारीले समेत मानवीय सेवाको सुन्दर नमुना भएको भन्दै धन्यवाद दिएका थिए ।

Leave a Reply