म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनी घर भई हाल बेनीबजारस्थित वीरेन्द्रचोक निवासी समाजसेवी सुर्यप्रकाश बानियाँ सम्मानित हुनुभएको छ । नेपाल रेडक्रस सोसाईटी पुलाचौर उपशाखालाई नगद एकलाख रुपैयाँ सहयोग गर्नुभएकोमा उहाँलाई सम्मान गरिएको हो ।

पुलाचौर उपशाखाको संस्थापक सदस्य समेत रहनुभएका बानियाँलाई हिँजो (शनिवार) नेपाल रेडक्रस दिवसको अवसर पारेर सम्मान गरिएको रेडक्रस पुलाचौर उपशाखाले जनाएको छ । सहयोगीदाता बानियाँलाई दिवसकै अवसरमा रेडक्रस उपशाखाद्वारा दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुका साथै रेडक्रसको यशस्कर सदस्यता समेत प्रदान गरिएको रेडक्रस पुलाचौर उपशाखाका सभापति शिव बानियाँले बताउनुभयो ।

सहयोगीदाता बानियाँलाई उपशाखा सभापति बानियाँ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, रेडक्रस म्याग्दी शाखाका सभापति तथा केन्द्रीय सदस्य लेखबहादुर हमाल, गण्डकी प्रदेश उपाध्यक्ष विष्णुकुमारी रोका, बेनी नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ र उपशाखाका संस्थापक सभापति एवं जिल्ला शाखा उपसभापति अमर बानियाँले संयुक्त रुपमा दोसल्ला ओढाएर, अबिर तथा खादा लगाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

समाजसेवी बानियाँलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख केसी र विशिष्ट अतिथि एवं रेडक्रस जिल्ला सभापति हमालले कोभिड–१९ रोकथाम, समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन तथा आपतविपद्मा परेकालाई विभिन्न किसिमका सहयोगहरु गरेर अन्य उपशाखाहरुको तुलनामा पुलाचौर उपशाखाले रेडक्रस अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

पुलाचौर उपशाखाले आपतविपद्का बखत सञ्चालित विभिन्न गतिविधि र सिर्जनात्मक कार्यहरूको कारण छोटो समयमै ११ जना विशिष्ट सदस्यहरू र २ जना यशस्कर सदस्यहरू थपिएको संस्थापक सभापति एवं जिल्ला शाखा उपसभापति अमर बानियाँले बताउनुभयो । उपशाखा सभापति शिव बानियाँको अध्यक्षता, कार्यक्रम संयोजक तथा कोषाध्यक्ष गिरेन्द्र बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य सृष्टि लामिछाने बानियाँले स्वागत गर्नुभएको थियो ।

यसैबीच दिवसकै अवसरमा रेडक्रस उपशाखा पुलाचौरले आफ्नो क्षेत्र भित्रका अति विपन्न र पक्षघातबाट सिकिस्त बिरामीलाई आर्थिक सहयोग गरेको छ । बिरामी परेकी पुरुन्डीकी ५९ वर्षीया सरस्वती दर्जी, नयाँगाउँका रनबहादुर दर्जी र खोरगैराकी रसिला परियारलाई जनही पाँच हजार रुपैयाँको दरले आर्थिक सहयोग गरिएको सभापति बानियाँले बताउनुभयो ।

उपशाखा सभापति बानियाँ, सचिव रेशमबहादुर बानियाँ, सदस्यहरु विरबहादुर खत्री, डेकबहादुर खत्री र दुर्गबहादुर बानियाँको टोलीबाट विपन्न तथा बिरामीको घरदैलोमै पुगेर भेटघाटसहित सहयोग हस्तान्तरण गरिएको थियो भने रेडक्रस दिवसकै अवसरमा उपशाखा परिसरमा सरसफाई पनि गरिएको थियो ।

Leave a Reply