नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको उमेद्वारका लागि १६ जनाको नाम सिफारिस गरेको छ । यसअघिको जिल्ला समन्वय समितिको बैठकमा उमेद्वारको दावी गरेका नेताहरुको सोमबार बेनीमा भएको छलफलबाट प्रदेश कमिटीमा नाम सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा संबिधानसभा सदस्य, केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज गोविन्द पौडेल, केन्द्रिय सल्लाहकार तथा पुर्व जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमिरे र प्रदेश कमिटि सदस्य खुमनाथ सुवेदीको नाम सिफारिस भएको छ ।

प्रतिनिधीसभाको समानुपातिकमा कृष्णबहादुर थापा र राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ सिफारिस हुनुभएको छ । प्रत्यक्षमा चर्चा गरिएका डा. श्रेष्ठलाई समानुपातिकतर्फ सिफारिस गरेको हो ।माओवादीले प्रतिनिधिसभाको प्रत्यक्षमा ल्याएर गठबन्धनबाट म्याग्दीमा आफ्नो दावी गर्ने चर्चाका बिच समानुपातिक सूचीमा परेपछि माओवादी कोटाबाट डा. श्रेष्ठलाई प्रतिनिधिसभामा प्रवेशको बाटो थप सहज भएको छ ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट डा. श्रेष्ठ जिल्लाभर चुनावी अभियानका सक्रिय हुनुहुन्थ्यो ।त्यस्तै राष्ट्र बैंकको गर्भनरको लाइनमा समेत रहनुभएको अवस्थामा तत्कालिन केपी शर्मा ओलीले महाप्रसाद अधिकारीलाई रोजेपछि डा. श्रेष्ठ बाहिरिनुभएको थियो । स्रोतका अनुसार प्रचण्ड निकट भएको र पार्टीका विभिन्न आन्तरिक छलफलमा समेत सहजै सहभागी हुने भएकाले समानुपातिकको सूचीबाट डा. श्रेष्ठलाई यसपटक प्रतिनिधिसभामा पुग्न समानुपातिक सहज बाटो भएको बताइन्छ ।

यसैगरी प्रदेशसभाको क्षेत्र (क)मा प्रत्यक्षतर्फको उमेद्वारका लागि धनलाल जैसी र हरि भण्डारीको नाम सिफारिस भएको छ । बेनी नगर कमिटिका अध्यक्ष सेरबहादुर केसीले दावी फिर्ता लिनुभयो । बागबिर पाईजा र राजकुमारी परियार समानुपातिकमा सिफारिस हुनुभएको छ । प्रदेशसभा क्षेत्र (ख) मा प्रत्यक्षतर्फ अर्जुन थापा, चन्द्रप्रसाद बुढाथोकी र रेशम जुग्जालीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ गौरी सेञ्चुरी, टेकबहादुर बिक, सुकमाया रोका र यामन रोका सिफारिस हुनुभएको छ ।

Leave a Reply