गण्डकी प्रदेशस्तरीय नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा सम्पन्न भएको छनौट खेलमा म्याग्दी मार्सल आर्ट सहितका खेलमा चम्किएको छ । सिमित स्रोत, तालिम तथा ब्यवस्थापनमा म्याग्दीले विभिन्न खेलमा १३ वटा स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा विहिबारदेखि पोखरामा संचालन भएको प्रतियोगितामा म्याग्दीले विभिन्न १४ विधाका खेलमा सहभागीता जनाएको थियो ।

जिल्लाबाट करिव दुई सय जना खेलाडी सहभागी उक्त १४ विधाका खेलबाट जिल्लाले १३ स्वर्ण, २१ रजत र ३० कास्य पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।छनौट प्रतियोगिताबाट राष्ट्रिय खेलकुदमा म्याग्दीका ३२ जना खेलाडी छनौट भएका अध्यक्ष केसीले बताउनुभयो । छनौट भएका खेलाडी आगामी असोज २६ गतेदेखि गडण्की प्रदेशभित्र हुने खेलमा सहभागी हुने गरी बन्द प्रशिक्षणमा रहेका छन् ।
एथलेटिक्समा लङजमतर्फ १ रजत, तेकवान्दो तर्फ २ स्वर्ण, ५ रजत र ११ कास्य पदक जितेको छ । भने २ जना राष्ट्रिय खेलमा छनौट भएका छन ।

करातेतर्फ ६ स्वर्ण, १ रजत र ८ कास्य जितेको छ भने ३ जना खेलाडी छनौटमा परेका छन । त्यस्तै उसुतर्फ २ स्वर्ण, ३ रजत र २ कास्य जितेको छ भने दुई स्वर्ण र २ रतज जितेका गरि ४ जना खेलाडी छनौट भएका छन ।स्वर्ण पदक जितेको महिला भलिबलबाट ८ जना र पुरुष भलिबलबाट १ जना राष्ट्रिय खेलकुदका लागि छनौटमा परेको अध्यक्ष केसीले बताउनुभयो । बक्सिङतर्फ धवलागिरी गाउँपालिका ६ मराङकी एलिना गर्वुजाले स्वर्ण पदक जित्नुभएको थियो । बास्केटवलमा पुरुषले रजत र महिलाले स्वर्ण पदक प्राप्त गरेका छन ।

पुरुष र महिला दुवैतर्फबाट ४÷४ जना खेलाडी राष्ट्रिय खेलमा छनौट भएका छन ।महिला फुटवलबाट २ जना राष्ट्रिय खेलका लागि छनौट भएका छन । कवडी खेलमा महिलाले रजत र पुरुष कास्य पदक जितेका थिए । पुरुषका ३ र महिलाका ४ जना खेलाडी राष्ट्रिय खेलमा खेल्ने भएका छन । टेवल टेनिसमा कास्य पदक जितेको म्याग्दीबाट ४ जना र आर्चरीबाट दुई खेलाडी छनौटमा परेका छन । ७ रजत र ५ कास्य जितेको आइटिएफ तेक्वान्दोखेलबाट १ जना छनौट भएका छन ।

 

Leave a Reply