म्याग्दीमा रहेका प्रयोगकर्तालाई लक्षित गरी लागु औषधको कारोबार गर्ने दुई यूवालाई जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित पक्राउ गरेको छ । म्याग्दीको प्रहरीले खोजीकार्य गरिरहेको सुइको पाएपछि पोखरा जाँदै गरेको अवस्थामा बेनी नगरपालिका वडा नं. ७ का वर्ष २१ का सुरेश घर्ती मगर र धौलागिरी गाउँपालिका वडा नं. १ का वर्ष ३१ का नगेन्द्र थापालाई लागुऔषध बोकेर पोखरा आउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

म्याग्दीमा प्रयोगकर्ताको सूचनाको आधारमा प्रहरीले दुबै जनालाई तीनदिन देखि खोजी गरिरहेको बताएको छ । उनीहरुको साथबाट लागुऔषध डाइजापाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल, नुर्फिन ५६ एम्पुल गरी जम्मा १६८ एम्पुल बरामद भएको कास्की प्रहरीका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

पक्राउ गरेका दुवैलाई लागुऔषध मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय कारोबारी र प्रयोगकर्ताले नयाँ शैलीको प्रयोग गरी कारोबार गर्न थालेको गोप्य सूचनाको आधारमा म्याग्दी प्रहरीले समेत खोजी गरिरहेको थियो ।

यसअगाडी म्याग्दीमा प्रहरीले नियन्त्रणमा लिएका प्रयोगकर्ता र कारोबारीले समेत पर्वत आसपासका क्षेत्र लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको बताएपछि प्रहरीले कडाई गरेपछि छिमेकी राष्ट्र भारतको सिमा क्षेत्र जोगवनी, रक्सौलबाट ‘बडी फिटिङ’, मोटरसाईकल, सार्वजनिक यातायातका साधन र सीमा क्षेत्रबाट पैदलयात्रामार्फ लागुऔषध ल्याउने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।

म्याग्दीमा विगतमा सार्वजनिक सवारीसाधनबाटै ल्याइएको लागुऔषध बरामत भएपनि अहिले कारोबारीले नयाँ–नयाँ उपाय लगाएर कारोवार चलाएका छन् ।म्याग्दी प्रहरीले लागु औषधका प्रयोगकर्ताको खोजीलाई निरन्तरता दिदैं आवश्यकता अनुसार छड्के चेकजाँच समेत गर्ने गरेको प्रहरीले जनाएको छ । म्याग्दीमा प्रयोगकर्ताको संख्या बढेपनि कारोबारी र प्रयोगकर्ताले नयाँ शैलीको प्रयोग गर्ने गरेको बताइन्छ ।

प्रहरीले कडाई गर्न थालेपछि म्याग्दी प्रवेश गर्ने नाकामा प्रयोगकर्ताले स्थानको पहिचान गरी त्यहाँ लगेर राखिदिने, मोबाईल बैंकिङको माध्यमबाट भुक्तानी गर्ने र प्रयोगकर्ताले राखिएको स्थानबाट ल्याएर प्रयोग गर्ने सम्मको नयाँ शैलीको प्रयोग समेत गरेको भेटिएको छ।

प्रयोगकर्ता र कारोबारीले ’सुरक्षित ठाउँ पहिचान गरेर तस्वीर सामाजिक सञ्जालबाट इनबक्समा पठाउने गरेको समेत भेटिएको छ । उक्त कार्यमा प्रयोगकर्ताले प्रहरीको फन्दामा परिने जोखिमले निश्चित शुल्क तिरेर भरियालाई समेत प्रयोग गर्ने गरेको छ । लागु औषधका प्रयोगकर्ताको नयाँ शैलीलाई पच्छाउन प्रहरीलाई समेत हम्मेहम्मे परेको अवस्थामा प्रहरीको परामर्श पाएका युवाहरूको सूचनाका आधारमा लागुऔषधका कारोबारीहरूलाई पनि कारबाही गर्न सफल भएको प्रहरीले जनाएको छ ।

Leave a Reply