दिवस गुरुङ
पेल्माको तिरैतिरै, याम्खारा भिरै भिरै,
भेटै हौँला मैकोट शिरैशिर ।
नेपालको प्रसिद्ध म्युजिक ब्यान्ड नेपथ्यको ‘शिरपूmल शिरैमा’ गीतको यो अंश सुन्दा म पनि पेल्मा नदीको तिरैतिरै हराइजाँन्थे । याम्खारा भिर कस्तो अजंगको होला हगि, मनमा छुट्टै कौतुहलता जाग्थ्यो । सुन्दर गाउँ मैकोटसम्म पुग्ने अभिलाषा कैयौं वर्षदेखि रहरका रुपमा मनमा साँधिरहेको थिए । यसपालि म त्यही नेपथ्यको गीत गुनगुनाउँदै पैदलमा पुग्दै थिएँ, पेल्माहुँदै मैकोट शिरैशिर । किनकि, यी सुन्दर भूभागहरु गुरिल्ला पदमार्गका अंशहरु थिए ।
घुम्नु बरालिनु हैन । घुम्नु समय, पैसा र उर्जाको बर्बादी पनि हैन । घुम्नु सिक्नु हो, बुझ्नु हो । घुम्नु आफ्नै आँखाले देश हेर्नु हो । अरुबाट सुनेको र पुस्तकमा पढेको देशभन्दा आफ्नै आँखाले हेरेको र देखेको देशको भिन्नता आकाश पातालको भेटिन्छ । करिव एक महिना गुरिल्ला पदयात्रा एक्लै तय गर्ने योजना सुनाउँदा सबै छक्क पर्थे । एक्लै ? एक महिना ? त्यो पनि गुरिल्ला पदयात्रा ? यी अनेक प्रश्नहरु मलाई उल्टै तेस्र्याउँथे । वेपर्वाह कसैको वास्ता नगरी एक्लै घुम्नुको असली मज्जा र आनन्द लिन म निस्किएँ, गुरिल्ला पदयात्रामा ।
युद्ध पर्यटन अर्थात् गुरिल्ला पदमार्गः
दश वर्षे माओवादी जनयुद्धको उद्गम स्थल हो, रुकुम रोल्पा । रुकुम रोल्पाबासीहरुले अहिले शीर्ष स्थानमा रहेका माओवादी नेताहरुलाई जनयुद्धताका हावापानी र वर्षाबाट मात्र जोगाएनन्, आफ्नै ज्यानको बाजी थापेर वर्षासरी वर्षिने सेनाका बारुद र गोलीबाट पनि बचाएका थिए । बागलुङ, म्याग्दी र सल्यान जिल्लाहरु पनि जनयुद्धमा अति प्रभावित जिल्लामध्ये पर्दछन् । यिनै जिल्लाका कुनाकन्दरा, गाउँठाउँ र डाँडाकाडा हिँडेर देशैभर माओवादीले आफ्नो शक्ति जमायो र युद्धमा सफलता पनि हासिल ग¥यो । ती दश वर्षमा माओवादी छापामारहरुले अत्याधिक प्रयोगमा ल्याएका भिर पखेरा, गोरेटो, घोडेटोलाई नै एकीकृत गरेर पछि नामाकरण गरियो, गुरिल्ला पदमार्ग । अर्थात् माओवादी छापामार हिँडेको बाटो ।
ढोरपाटन केवल फाँटमात्र हैनः
हामी आम मानिसको बुझाइ नै गलत छ । हर कुरालाई हामी सतहीमा बुझ्छौं । गहिराइमा पुगेर यर्थाथ बुझ्न न हामी रहर पाल्छौं न रुचि नै । ढोरपाटन भन्ने बित्तिकै आम मानिसले बुझेको कुरा हो, यहाँ जो कोही आएर सिकार खेल्छन् । तर, यर्थाथ भने फरक छ, निश्चित रकम तिरेर निश्चित ठाउँमा गएर निश्चित समयमा शिकार गर्ने थलो हो, ढोरपाटन । अनि यस्तो क्षेत्र नेपालमा अन्त कहीँ नभएर केवल ढोरपाटन मात्र हो । एउटा नाउर वा झारल शिकार गर्नकै लागि लाखौं रकम लाग्ने भएकाले हालसम्म एकजना नेपालीले बाहेक सबै विदेशीले मात्र शिकार गरेको इतिहास छ ।
आम मानिसको अर्को गलत बुझाइ हो, ढोर केवल फाँट हो । ढोरपाटनको प्रवेशद्धार देउरालो कटेर देखिने जुन फाँट हो, यही हो ढोरपाटन । ‘ढोरपाटनमा खासै केही नरहेछ । त्यही पूmल फुलिरहेको फाँटमा दुई चारवटा घोडाहरु चरिरहँदा रहेछन् । नजिकै आरक्ष कार्यालय रहेछ । एकदिनमा सरर बाइकमा घुमे ढोरपाटन घुमिन्छ,’, यो ढोरपाटन पुग्नेहरुको गलत बुझाइ हो । यर्थाथमा ढोरपाटन भर यस्ता सुन्दर अनगिन्ती फाँटहरु छन् । एकदिन सरर बाइकमा घुमेर भोलिपल्ट बुर्तिबाङ हुँदै सहर फर्किने गन्तव्य ढोरपाटन हैन । मिहिन ढंगले ढोरपाटनको नालीबेली बुझ्न हप्ता दश दिनले पनि पुग्दैन ।
ढोरको फाँटमा केवल रंगीचंगी पूmलहरु मात्र फुल्दैनन्, सँगै फुलेका हुन्छन् कैयौं रंगीचंगी कथाहरु । कति संघर्षका त कति साहसका । कति आशा त कति निराशाका । तिब्बती शरणार्थीका कथादेखि स्थानीयका तीन पटनको बसाइँसराइ गर्दाका जीवनका भोगाइहरु खै हामीले सुनेको ? विगतको जनयुद्धदेखि आजको दिनमा आरक्ष र स्थानीयबीचका द्वन्द्व । यी विविध पाटाहरु ढोरपाटनमा कम खोजिएका अंशहरु हुन् ।
ढोरपाटन खुल्ला पुस्तकझैं लाग्छ । जसले जति पाना पल्टाउन सक्छ, उसले उति नै धेरै ढोरपाटन बुझ्न सक्छ । ढोरपाटनको सेरोफेरोमा हप्ता दिन बिताउँदा पनि म अघाइन । हिउँले फाँट सेताम्या हुँदा फेरि ढोरपाटनको प्रेमिल आँगन टेक्न मन छ ।
रुकुमेली मायाले रुझ्दाः
एक्लै त जहाँ पनि अटाइन्छ नि, अपरिचितको घरमा होस् वा मनमा, मलाई एकल यात्राले सिकाएको पाठ हो यो । उपल्लो ढोरपाटन हुँदै ठाकुर कटेपछि घण्टौं हिडेर पुगिने पूर्वी रुकुमको सुन्दर गाउँ हो, पेल्मा । घण्टौं घना जंगल, भीरपहरा छिचोल्दै साँझ सुरक्षित पेल्मा पुग्दाको सुखानुभूति बेग्लै थियो । थाहा थियो, यहाँ होटलहरु छैनन् ।
माटाले बनेको दुई तले घरको माथिल्लो तलमा एक सुरले एक वृद्ध बा सुल्पा तानिरहेका थिए । मलाई उनीसँग गफिन मन लाग्यो । अनि उक्लिएँ, माथिल्लो छिँडीमा । उनै ५३ वर्षीय काले बुढा मगरले मलाई पेल्मामा द्वन्द्वको असर, यहाँको अचाक्ली महंगी, बाटोघाटो, सञ्चार र स्वास्थ्यको सास्ती आदिबारे मात्र वृतान्तमा सुनाएनन्, त्यस रातका लागि उनकै घरमा बास दिए । बिहान छुट्टिनै लाग्दा, एक प्लास्टिक भरि पेल्माको स्याउ पोको पारिदिए । स्याउ रसिलो कि उनको आतिथ्यता, म दोधारमा पर्दै मैकोट लागेँ ।
मैकोट, तका, उपल्लो र तल्लो सेरा गाउँहरु बिछट्टै सुन्दर देखिन्थे । खुलेको मौसम अनि उस्तै खुलेको रुकुमेलीको मन । हपहपी गर्मीमा कोही पानी पिउन बोलाउँथे त कोही बारीको ताजा काँक्रो र अचार बनाइदिन्थे । बिहानको भान्छा यतै गरौं न त बाबु, आतिथ्यता झल्किन्थ्यो बोलीमा । बाटामा भेट्नेहरु घर सोध्थे, पुग्नुपर्ने गन्तव्य बुझ्थे अनि आधा बाटासम्म आएर बाँकी बाटो देखाइदिन्थे । रुकुमेलीको खुला र उदार हृदयले म त पानीपानी भइगएँ ।
जंगलमा बाटो बिराएर गोठ पुग्दाः
तक अनि सेरा गाउँ घुमेपछि मेरो अर्को गन्तव्य थियो लुकुम गाउँ । भनभने डाँडा, तिला भञ्ज्याङहुँदै कस्सेर हिँडे पाँच घण्टामा लुकुम पुगिन्छ, स्थानीयहरु भन्थे । ‘त्यो बाटो आजकल त कोही पनि हिँड्दैनन्, तपाईंले बाटो बिराउनुहुन्छ । बरु यतै मोटरमा तीन घण्टामा लुकुम पुगिन्छ,’ उपल्लो सेराका लक्ष्मण बुढा मगर मलाई जंगलको बाटो नहिँड्न सुझाव दिँदै थिए । मलाई पुरै ३५ दिन पैदलमार्ग हुँदै हिँड्नु थियो । मोटर गाडी त यात्राभर चड्दै नचड्ने, मैले आफैंसँग कबुल गरेको थिएँ ।
वर्खाको समय, जंगलको बाटो । जताततै झाडी कै साम्राज्य थियो । कति बेला बाटो बिराएँ पत्तै भएन । म करिब आधा घण्टा झाडीमै फसेँ । बल्लतल्ल त्यहाँबाट उम्केर सानो खोल्सो तरेर जंगल पसेँ । जुकाको उस्तै बिगबिगी । उभिएर दुईटा फाल्दा चारवटा जुका खुट्टामा उक्लिसकेका हुन्थे । जुका फाल्नुभन्दा नफाली बाटो लाग्नु उचित हुन्थ्यो । जंगलमा पछ्याइरहेको मसिनो बाटो बीचैमा बिलायो । मोबाइल म्याप अनुसार माथि डाँडा पुग्नु थियो । म त्यही लक्ष्य लिएर माथिमाथि उक्लिरहे । घन्टौं उक्लिदा पनि उति नै टाढा थियो डाँडा । बाटो बिराएको तीन घण्टा बितेपछि अर्को मसिनो बाटो भेट्टाएँ । त्यसलाई पछ्याउँदै अघि बढ्दा साँझ ६ बजे एउटा गोठ पुगँे । पुग्नुपर्ने बाटोभन्दा धेरै पूर्वतिर लागेर म त मार्कागुङ पुगेछु । त्यस रात त्यही गाई गोठमा बसेर बिहानै म लुकुम लागेँ ।
रोल्पालीसँगै रोएको मेरो मनः
द्वन्द्वकालको उद्गम स्थल हो रोल्पा । गुमनाम रोल्पा सशस्त्र द्वन्द्वकालसँगै नेपालभर चिनियो । रोल्पाकै काखमा दशवर्षे जनयुद्धको जग सुरु गरेर माओवादीले सफलता हासिल ग¥यो । २४० वर्षे राजतन्त्र हटेर देशमा लोकतन्त्र र गणतन्त्र स्थापना भयो । युद्ध गर्ने नाइकेहरु नेता बनेर शहर छिरे तर उनीहरुले कहिल्यै रोल्पालाई सम्झेनन् । फर्केर हेरेनन्, युद्धमा रोल्पालीले दिएको त्यो साथ र सहयोग ।
जनयुद्ध समयमा तर्जुबाङका बलमान बुढा मगर बेपत्ता भएको कैयौं वर्ष बित्यो तर उनी जीवित वा मृत अझै पत्ता लागेको छैन । द्वन्द्वकालमा विदेश भासिएर कतै फर्केर पो आउँछन् कि ? जीवितै छन् कि भन्ने झिनो आश अझै उनको परिवारमा बाँकी छ । यस्तै आश राचिवाङका लालमनी रोका मगरको जहानमा पनि छ । आशै आशमा पर्खिरहेका उनीहरुका पखाईका पलहरुले मन नराम्ररी रुवायो ।
जेलवाङका चन्द्रबहादुर बुढा मगर (कमरेड शेष) जनयुद्ध कालमा रोल्पा जिल्ला माओवादीका बटालियन कमान्डर थिए । यसअघि करिव २०
वर्ष लामो शिक्षण पेशामा लागेका उनी जनयद्धमा होमिएका थिए । उनले आफैंले पढाएका २६ जना विद्यार्थीहरु जनयुद्धमा गुमाए । जेलवाङमा मात्र ६३ जना माओवादी कार्यकर्ता र १० जना सरकारको पक्ष गरी ७३ जना सहिद भएका थिए । युद्ध सकिएपश्चात राष्ट्रिय सभाको सदस्यमा समेत मनोनित भएर राजधानी पस्ने अवसर पाएर पनि उनी गाउँ छाडेनन् । विभिन्न संघसंस्थासँग लागेर सोह्र सय घरधुरीलाई घरघरमा पानी पु¥याए । लघु जलविद्युत सञ्चालनमा ल्याएर छ सय घरलाई झलमल्ल पारे । यति धेरै शहीद बनेको यस माटोलाई यहीँ बसेर सिञ्चित गनुपर्छ भन्ने भाव बोकेर उनी आजीवन समाजसेवामा होमिए । र, लागिरहेका छन् निरन्तर ।
एकल यात्रामा स्वतन्त्रताको त्यो परिधिः
मलाई यात्राभर स्वतन्त्रता चाहिन्छ । आफ्नो रहर, चाहना र तालिका अनुरुप यात्राभर हिँड्न, खाना वा सुत्न पाए पो आनन्द । साथीभाइसँग समुहमा यात्रा गर्दा केही न केही कुरामा आपूm खुम्चिनुपर्छ । एकल यात्राको आफ्नै स्वाद छ, न कसैलाई कुर्नु पर्ने न कसैले छाडेर गए भनेर कसैलाई गुनासो नै पोख्नुपर्ने ।
यात्राभर मलाई स्वयं ‘म’ नै बन्न मन लाग्छ । म धीतमरुन्जेल निला आकाश र अजंगका पहाडहरु हेरेर घन्टौं हराइदिन्छु । नथाकुन्जेल नदीको किनारमा नदीसँगै बगिदिन्छु । कहिले घन्टौं दिनभर हिँडिदिन्छु त कहिले कहिले घन्टौं आराम गरेर बिताइदिन्छु । आज यति नै घण्टा पदयात्रा गरेर यो नै गन्तव्य पुग्नु पर्ने मेरो निश्चित लक्ष्य हुँदैन । जहाँसम्म पुगिन्छ, त्यहीँ रात काट्ने । हरेक निर्णयहरु स्वयः आफैंले गर्न पाउनु एकल यात्राको अर्को सुखद पक्ष हो ।
यात्रामा साथी नलग्नु, यात्रापछि साथी बनाएर फर्कनू
यात्रामा साथी लग्ने हैन, यात्रापश्चात नयाँ साथीहरु बनाएर फर्कने हो, यही मेरो यात्राको मूल मन्त्र हो । समुहमा यात्रा गर्दा अरुसँग बोल्ने, गफ गर्ने वा अरुबारे बुझ्ने चासो वा जरुरत पनि लाग्दैन तर एकल यात्रा तय गर्दा यात्राभर भेटिनेहरुसँग सानिध्यता र निकटता बढ्छ ।
ससाना केटाकेटी भेट्दा म पनि केटाकेटी नै भइदिन्छु । बुढापाका भेट्दा उनीहरुका जीवन अनुभव सुन्न कसिन्छु । यात्राभर भेटिएका युवाका संर्घषका कथाहरु सुन्छु अनि आवाजविहीनका लागि आवाज बन्ने जमर्को गर्छु । सबैसँग घुलिन सक्दा न त एक्लोपनको अनुभव हुन्छ न एक्लिएकै महसुस हुन्छ । समूहमा यात्रा गर्दा पनि एक्लिएको वा छुट्टाइएको तितो अनुभव सँगाल्नुभन्दा निस्फ्रिक्री एक्लै यात्रामा निस्कनु बेस । बगिरहेको नदी, पूmलिरहेका पूmलहरु अनि उडिरहेका पंक्षी मेरै साथी लाग्छन् । आफ्नोपनको अनुभूति गरे सबै आफ्नै लाग्ने, यात्राले सिकाउँछ ।
अन्त्यमा,
गुरिल्ला पदमार्ग हजारौं सम्भावनाहरु बोकेको चम्किलो हिरा हो । कसैले महत्व नदिदैमा हिराले आफ्नो चमक कहाँ छोड्छ र ? पदमार्गको स्तरोन्नति, सुविधायुक्त होटल तथा टि हाउसको व्यवस्था एवं पर्याप्त प्रचारप्रसार गर्न सके गुरिल्ला पदमार्ग जनयुद्ध अध्ययन गर्ने थलो एवं मगर भाषा, संस्कृति र सभ्यता बुझ्ने पाठशाला बन्नेमा कुनै दुई मत छैन ।