नेकपा एमाले म्याग्दीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा सङ्कलन गर्नेगरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न लागिएको एमालेले जनाएको छ ।

सोही अभियान सञ्चालन सहित निर्वाचन केन्द्रित अभियानका लागि धवलागिरि गाउँपालिका बाहेक जिल्लाको पाँचवटा स्थानीय तहमा पालिकास्तरीय वैठक तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको एमाले म्याग्दीले जनाएको छ । नेकपा एमाले मालिका गाउँपालिका कमिटीको आयोजनामा दरबाङमा सम्पन्न वैठकले पालिका भित्रका सबै वडामा वडास्तरीय वैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयअनुसार यही भदौ २५ गते मालिकाको निस्कोट, २७ गते रुम, २८ गते डाँडागाउँ, २९ गते दरबाङ, ३१ गते ओखरबोट र असोज १ गते विममा वडा कमिटीको वैठक तथा भेला आयोजना गरिने एमाले मालिका गाउँपालिका कमिटीका सचिव सन्तोष सुवेदीले बताउनुभयो । वडा कमिटीको वैठकसँगै वडास्तरमा जनतासँग एमाले कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । एमाले म्याग्दीको हालै सम्पन्न जिल्ला कमिटिको वैठकबाट जनतासँग एमाले कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नेगरी निर्णय गरिएको छ ।

गाउँपालिका कमिटीको वैठक तथा भेलालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य एवं आसन्न प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । जिल्लाका सबै वडामा पुगेर निर्वाचन केन्द्रित अभियान सहित जनताको आवश्यकता तथा जनस्तरमा तत्काल गर्न सकिने गतिविधिलाई प्राथमिकता दिने बताउनुभयो ।

वैठकमा एमाले जिल्ला कमिटी सदस्यद्वय मनबहादुर पुन, कुलबहादुर घर्ती, एमाले निस्कोटका पूर्व वडा कमिटी अध्यक्ष बुद्धी पुन, रुमका वडाध्यक्ष उदयबहादुर बुढाथोकी, ओखरबोट वडा कमिटी अध्यक्ष गोपाल कँडेल, देवीस्थानका वडा कमिटी अध्यक्ष नवीन बुढाथोकी, दरबाङका वडाध्यक्ष पथबहादुर रोका र विमका वडाध्यक्ष टकलाल पुनले वडामा एमालेको अवस्थाका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

वैठकमा एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रदेश सभा (ख) निर्वाचन समन्वय कमिटी संयोजक खरमाया बिटालु, जिल्ला सचिवालय सदस्य सीता गुरुङ र मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनको उपस्थिति रहेको थियो । वैठक गाउँपालिका कमिटीका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षता, सचिव सन्तोष सुवेदीको सञ्चालन र उपसचिव भूपेन्द्र नेपालीको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply