पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र दरबाङमा आज (बुधवार) मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी आयोजना गरिएको हो ।

स्थानीय जनप्रतिनिधि, पालिकाका कर्मचारी र सम्बन्धित कार्यक्रमका प्रतिनिधिहरु सहभागी गोष्ठीको अवसरमा पालिकाको पोषण अवस्था सुधार गर्नका लागि खाद्य, सुरक्षा, पोषण तथा सरसफाइसम्बन्धी विभिन्न छ बुँदे प्रतिबद्धता तथा निर्णयहरु समेत गरिएको छ ।

नेपाल सरकार तथा मालिका गाउँपालिकाको बहुक्षेत्रीय पोषण योजनालाई सघाउन मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमले हालसम्म गरेका कार्यक्रमहरुको समीक्षा तथा समुदायमा व्यवहार परिवर्तनका साथै पोषण, स्वास्थ्य, सरसफाइलगायत विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तनसहित दीगोपनाका लागि गरेका प्रयासहरु सराह्रनीय पाइएको निर्णय गरिएको छ ।

विगतका वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा स्वास्थ्य र पोषणका सूचकहरुमा उल्लेख्य सुधार हुँदै आएको तथ्याङ्कबाट अवगत भएता पनि अझै संस्थागत सुत्केरी, प्रोटोकलअनुसार गर्भजाँच र दुई वर्षमूनिका बालबालिकाहरुको वृद्धि अनुगमन सुधार्न थप प्रयास आवश्यक देखिएकाले आगामी दिनमा बहुक्षेत्रीय पोषणको क्षेत्रमा कार्य गर्दै आएको मिलन म्याग्दी र सुआहारा कार्यक्रमसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

साथै चालु आवमा मालिका–७, विम र बाँकी ६ वटा वडालाई आगामी ५ वर्षभित्र पूर्ण पोषणमैत्री, बालमैत्री, सरसफाइउन्मुख पालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिइने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी मिलन म्याग्दी र सुआहारा कार्यक्रमले क्षमता विकास गरेर दर्ता एवं पालिकामा स्थापित गरेका ग्रामीण नमुना कृषक, स्थानीय स्रोतव्यक्ति, जेसी च्याम्पियन र साथी सहजकर्तालाई पालिकाको जनशक्ति एवं स्वयंसेवकको रुपमा परिचालन गर्ने र कृषि, पशु सेवाको क्षेत्रमा पालिकालाई आत्मनिर्भर बनाउने अभियानमा सहयोग लिने र उनीहरुलाई समाजमा लैङ्गिक हिंसा न्युनीकरण तथा स्वास्थ्य आमा समूह, सुनौलो हजार दिनका महिला र बालबालिकाहरुको पोषण अवस्था, स्वास्थ्य एवं सरसफाइको क्षेत्रमा जागरण अभियानलाई निरन्तरता गराउन पहल गर्ने निर्णय गरिएको छ ।
त्यस्तै पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक नियमित बस्ने र बहुक्षेत्रीय पोषण योजनाका कार्यक्रमहरुको फोकलपर्सन तय गरी पोषण योजनाले अघि सारेका उद्देश्य र दीगो विकास लक्ष्य हासिल गर्न प्रयत्नशील रहने जनाइएको छ । त्यसैगरी गाउँपालिकालाई अरु पालिकाहरुलाई बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनबाट वडा र पालिकाको समग्र विकास हुन्छ भन्ने सिकाइलाई नमुनाको रुपमा तयार गरी आगामी दिनमा आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था गरिनेलगायत निर्णयमा उल्लेख गरिएको छ ।

गोष्ठीमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्की, शिक्षा अधिकृत अशोक रिजाल, कृषि अधिकृत शिक्षित पराजुली, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थी र म्याग्दी फिल्ड सुपरभाइजर बालकुमारी पुनले आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठीमार्फत गरिएको प्रतिबद्धता तथा निर्णयहरु वाचन गर्नुभएको थियो।

सुनौला हजार दिनको महिला मनिसा केसीलाई जीवनको महत्वपूर्ण क्षण (कि लाइफ इभेन्ट)अन्तर्गत पोषिलो खानेकुरा प्रदान गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । गोष्ठीको समापन गर्दै गाउँपालिका अध्यक्ष गर्बुजाले पालिकाभित्र खाद्य, पोषण र स्वास्थ्यको अवस्था सुधार गर्नका लागि कृषि, पशु र स्वास्थ्य शाखामार्फत विभिन्न गतिविधिहरु सञ्चालन गरिने बताउनुभयो । उहाँले विषयगत शाखामार्फत प्रभावकारी रुपमा योजना तथा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउँदै कार्यक्रम कार्यान्वयनमा पालिकाका सबै जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुुभयो ।

गाउँपालिकाको उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले मिलन म्याग्दीमार्फत सञ्चालित सुआहारा कार्यक्रमले स्थानीयस्तरमा खाद्य, पोषण र स्वास्थ्यको अवस्था सुधार गर्न महत्वपूर्ण सहयोग पु¥याएको भन्दै बजारको खानेकुरा भन्दापनि गाउँघरको उत्पादन प्रयोगमा जोड गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तेजिन्द्र रानाले गर्नुभएको थियो भने स्थानीय स्रोतव्यक्ति हरिमाया घर्ती पुन र जेसी च्याम्पियन चोकेन पुनले सुआहाराले पु¥याएको योगदानसहित अनुभव सुनाउनुभएको थियो ।

Leave a Reply