पेट दुख्दा ‘गाँजा चपाएर खा’ गाउँघरमा यो भन्ने बुढापाका गाउँ–घरमा अझै पनि भेटिन्छन् । गाँजालाई औषधीको रुपमा प्रयोग गर्नेृ, गाँजाको दानाको अचार खाने चलन छ । गाँजाको फाइदाभन्दा बेफाईदा धेरै भएको भन्दै नेपालमा गाँजामा प्रतिबन्ध लगाएसँगै गाँजाको सकारात्मक भन्दा नकारात्मक पक्षलाई लिएर प्रहरीले देशैभरी खोज्दै नष्ट गर्ने गरेको छ ।
म्याग्दीमा पनि प्रहरीले समुदायसँग सहकार्य गरी प्राकृतिक रुपमा उम्रिएको गाँजालाई खोजी खोजी नष्ट गर्ने अभियान सञ्चालन गरेपनि जताततै उम्रिएको गाँजा खोज्दाखोज्दै प्रहरी र समुदाय नै हैरानीमा छन् ।
पछिल्लो दुईमहिना यता जिल्ला प्रहरी कार्यालय म्याग्दीको आधिकारिक फेसबुक पेजमा दैनिकजसो जिल्लाका विभिन्न स्थानमा गाँजा नष्ट गरेका तस्वीर सार्वजनिक हुन्छ ।
File photo
प्रहरीको अभियानमा समुदायले समेत खुलेर साथ दिएपछि गाँजाका बोटलाई नष्ट गर्न सहज भएको छ । सार्वजनिक, ब्यक्तिको जग्गामा उम्रिएको गाँजा नष्ट अभियानमा समुदायको साथले प्रहरी उत्साहित भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीको भनाई छ ।
’समुदायको साथले सहज भएको छ,लागुऔषधको प्रयोगकर्ताले गाँजा खोज्दै हिड्ने भएकाले नष्ट गरिएको हो’ प्रनाउ भारतीले भन्नुभयो । म्याग्दीको सहरबजार बाहेक ग्रामिण क्षेत्रमा समेत लागु पर्दाथ, औषधको प्रयोगकर्ता बढ्दै जान थालेपछि अभियान नै सञ्चालन गरेको प्रहरीले जनाएको छ । नेपाली समाजबाट गाँजालाई टाढै राख्ने, भेटेसम्म नष्ट गर्ने जस्ता अभियानले सहज भएको छ ।
म्याग्दीको बेनी नगरपालिका सहित ५ वटै गाउँपालिकामा यो अभियानलाई तिब्रता दिएको प्रहरीले जनाएको छ । गाँजा जस्ते ठाउँमा उम्रिने भएकाले समुदायले नै खोजेर प्रहरीलाई जानकारी दिने गरेकाले प्रहरीले समेत फँडानीमा चासो देखाइरहेको छ ।
गाउँदेखि सहरसम्मका कलिला यूवाहरु समेत कुलतमा फसेको भन्दै जिल्ला प्रहरी कार्यालयमार्फत जिल्लाभरका सबै प्रहरी यूनिटलाई गाँजा फडानीको निर्देशनसँगै समुदायसँग मिलेर खेतबारी, बनजंगलमा प्रहरीको टोली गाँजाको बोट फँडानी अभियानलाई तिब्रता दिएको छ ।
समुदाय–प्रहरी साझेदारी’कार्यक्रम अन्तरगत यो अभियानलाई प्राथमिकता दिइएको छ । प्रहरीको हिरासतमा र प्रहरीको निगरानीमा रहेका लागु औषधका प्रयोगकर्तामध्ये करिब ८० प्रतिशतले गाँजाको सेवनबाटै शरीरका विभिन्न भागबाट प्रयोग गर्ने सिरिन्जको खोजी गर्ने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।
म्याग्दीमा गाँजाका बोट रोप्ने भन्दा पनि प्राकृतिक रुपमा बढी मात्रामा उम्रने गरेको पाइएको छ। नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ । एक गाँजा, अर्को अफिम । दुबै प्रकारको उत्पादनबाट म्याग्दी उच्च जोखिममा रहेको छ। लागुऔषधको प्रयोग र ओसार पसारले समाजमा विभिन्न खाले अपराध निम्त्याएकाले न्यूनीकरण गर्दै लैजान प्रहरीले अभियान चालेको जनाएको छ ।










