म्याग्दीको सदरमुकाम बेनीमा महिलाद्धारा लगानी र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभाबाट विष्णुकुमारी सापकोटाको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार बेनीमा आयोजित साधारणसभामा उपाध्यक्ष सुगम श्रेष्ठ,सचिव जगत बानियाँ खत्री, कोषाध्क्ष अम्बिका श्रेष्ठ,सह–सचिव कमला खत्री जिसी,कार्यसमिति सदस्यहरूमा जयन्ती रेग्मी सुबेदी, रजनी कर्मचार्य श्रेष्ठ, अञ्जना हमाल केसी, अम्बिका ढुंगाना, अनुषा श्रेष्ठ, पुष्पा थापा, शर्मिला थापा, रञ्जिता भट्टचन रहेको खत्री रहेको सचिव खत्रीले जानकारी दिनुभयो ।

शारदा शर्मा सुबेदीको संयोजकत्वमा लक्ष्मी भण्डारी कार्की, मेघा रिजाल सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ। नयाँ कार्यसमितिको पहिलो बैठकले शिक्षा, ऋण उपसमिति, कर्जा असुली उपसमिति चयन गर्ने जनाइएको छ ।

साधारण सभाबाटको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले महिलाहरु उद्यमशिल बन्नु पर्ने बताउनुभएको थियो । महिला आत्मनिर्भर हुन सीप हुन पर्ने बताउँदै नगरपालिकाले समेत आवश्यक कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको उपप्रमुख लामिछानेको भनाई थियो ।

सहकारीले मुठ्ठीदान मार्फत गरिव विपन्नलाई राहत तथा प्राकृतिक प्रकोपहरुमा सहयोग, शेयर सदस्यभित्र सुत्केरी कोशेली, दम्पत्ती सम्मान, एकल महिला प्रोत्साहन, महिलाहरुको सिप तथा क्षमता अभिवृद्धिका तालिम संचालन, सुलभ कर्जा प्रदान गरी आयआर्जन एवम् जीवनयापनमा सुधार लगायतका कार्यहरु प्रभावकारी ढंगबाट संचालन गर्दै आएको छ ।

सहकारीको प्रगति प्रतिवेदन सुगम श्रेष्ठ, आर्थिक प्रतिबेदन जगत कुमारी बाानियाँ खत्रीले प्रस्तुत गर्नुभएको थियो । कुल शेयर पूँजी ४ करोड १२ लाख २३ हजार ८ सय रुपैयाँ रहेको जानकारी गराउनुभएको छ । संस्थाले हाल सम्म ११ करोड ३० लाख ६१ हजार ७ सय २७ रुपैयाँ लगानी गरेको र ८ करोड ६९ लाख ४५ हजार ९८ रुपैयाँ बचत गरेको कोषाध्यक्ष खत्रीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा मात्रै कुल १ करोड २६ लाख ९१ हजार २ सय ६ रुपैयाँ आम्दानी र १ करोड १० लाख ७६ हजार ३५ रुपैयाँ खर्च गरेको छ ।

साधारणसभाकै अवसरमा शेयर सदस्यहरुलाई सहकारीको आवश्यकता, महत्व र वित्तीय जनचेतना प्रदान गर्ने उद्देश्यले सहकारीकर्मीको भुमिका, दायित्व र जिम्मेवारी समेतको विषयमा सहकारी प्रशिक्षक नारायण कार्कीले प्रशिक्षण दिनुभएको थियो । साधारणसभाको अवसरमा मुठ्ठीदान मार्फत अशक्त महिला बेनपा –३ की चन्द्रकली विकलाई नगद रु ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मर बहादुर किसान र कोपीला किसानको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

त्यस्तै उत्कृष्ट बचतकर्ता, असल क्रृणीकर्ता र असल कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको छ । बैकल्पिक उज्यालो विद्यालयबाट एसईई उतिर्ण गरेका सदस्य रेणुदेवी मल्ल र योगमाया शर्मा पौडेल र उत्कृष्ट विद्याथीतर्फ सन्दिप प्रसाद पौडेल र दिपा आचार्यलाई सम्मान गरिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । २० जना महिलाहरुलाई एकल महिला प्रोत्साहन स्वरुप नगद सहयोग गरिएको छ भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनुभएका संस्थाका शेयर सदस्यहरुलाई पनि सहकारीले सम्मान गरेको छ ।

साधारणसभाको उद्घाटन सत्र संस्थाका कार्यवाहक अध्यक्ष विष्णु गौतम सापकोटाको अध्यक्षता, सह सचिव अम्विका श्रेष्ठको स्वागत र र सचिव सुगम श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । ११५ जना शेयर सदस्यबाट सुरुभएको सहकारीमा हाल ८४३ सदस्य रहेका छन भने बेनीको गणेशटोलमा आफ्नै भवन निर्माण गरि कार्यालय संचालन गरेको छ ।

Leave a Reply