ती दिन क्या थिए। उहाँले बुढेसकालमा पाल्नका लागि तैंले जसरी पनि छोरा जन्माउनुपर्छ भन्नुहुन्थ्यो। म एक्लैले जन्माउने हो र भन्दै म पनि भन्दै जिस्किन्थे। बिहे भएको १० बर्षपछि ३ ओटी छोरी मुनि निकै रहरमा १ छोरो जन्मियो। मलाई अझै पनि झलमल्ल याद छ उहाँले छोरालाइ पहिलो पटक हातमा लिएर बुढेसकालको लौरो आयो भन्दै छोराको म्वाई खानु भएको थियो र मेरी सानी भन्दै मलाइ अँगालो हाल्दा सासूबुढी लजाएर बाहिर निस्कनु भएको थियो।
भएजति माया दिएर हामीले सन्तान हुर्कायौ। सबैको बिहे गरि दियौ। छोरीहरू आफ्नो आफ्नो कर्म घर गए। छोराको बिहे भएको १ बर्षमा उहाँ बित्नु भयो। बुहारी र मेरो भनाभन दिनदिनै बढिरहेको थियो। देखेको कुरा भनिहाल्ने मेरो बानी मेरी बुहारीले कत्ति मन पारेकी थिइन।
मलाई नशा सम्बन्धि समस्या छ बसेपछि जुरूक्क उठ्न गाह्रो हुन्छ। पानीमा धेरै खेल्न पनि हुँदैन। कहिलेकाहीँ बुहारी कपडा धुन जाने बेलामा मेरो पनि यत्ति धोइदे न भनेर दिदा बसीबसी शासन लाउँछे राक्षसनी बुढीले भन्दै गाली गर्दै कपडा नलगी धारातिर जान्थि। अँगेनामा कहिलेकाहीँ आगो ताप्दा नि टाङ फेट्टाएर बसेकी छे अल्छिनी भन्थि।कति कुरा नबोलेर नै बचाइ दिन्थ्ये। खाना खाएपछि छोराबुहारीको भनाभन चलेको थियो। म सधै जसो चल्ने भनाभनको केही वास्ता नगरी आफ्नो ओछ्यानमा गएर सुते।
भोलिपल्ट बिहानै कहिल्यै नउठ्ने छोरो चिया लिएर बिहानै मेरो ओट्यानमा पुगेको थियो। म छक्क परे। चिया टेबलमा राखिदिदै छोरोले भन्यो, आमा मैले तपाईं र तपाईकी बुहारीमा एउटा रोज्नु पर्यो। म झसङ्ग भए दोहोर्याए सोधे फेरि त्यही भन्यो। जुरूक्क उठेर म कहाँ जाउ यो बुढेसकालमा छोरो भन्दै रोए। छोरो नरोउ तिमी नि भन्दै झर्किदै ढोका बाहिर निक्लो। मेरो बुढेसकालको लौरोले आज आएर यसरी भन्ला भन्ने कल्पना पनि गरेकी थिइन। मनमा निकै सहन नसक्ने पीडा भयो।
बुहारी र मलाई छोरोले मिलाएर राख्न सक्नुपर्थ्यो । मैले आफ्नै छोराको घरबार बिगारेर कसरी मलाइ रोज भन्न सक्थे? छोरीहरूसँग दुखेसो पोखे। छोरीहरूले हाम्रोमा आउनु म पाल्छु भनेका थिए तर मन मानेन। मैले छोरोलाइ डाकेर तिमीहरू मिलेर बस मलाई बृद्धाआश्रम पुर्याइदेउ भने छोरोले मुहार हँसिलो बनाउँदै हुन्छ भन्यो ।त्यसको ४/५ दिनमा छोरा आफैले बृद्धआश्रम ल्याएर छोडिदियो।
त्यो दिन देखि मेरा आँखा कहिल्यै ओभनो छैनन्। यहाँ आफूजस्तै अरू पनि छन् तर मन मान्दैन। मानिसहरू हामीलाई नै भेट्न भनेर आउँछन् । प्रत्येक आउने जति मान्छेको आकृतीमा म मेरा सन्तान खोज्छु। पाउँदिन निराश हुन्छु। आजभोलि मलाई सास फेर्ने हावा पनि नपुगे जस्तो लाग्छ। निकै एक्लो महसुस गर्छु । रोएर थाकेपछि कति बेला निदाउछु थाहै पाउँदिन। हरेक बिहान बाहिर शीत परे जस्तै मेरो सिरानीमा आसु परेको हुन्छ। कान्ती। बेनी,म्याग्दी।

Leave a Reply