बेनी नगरपालिका–४,मा अवस्थित तातोपानी कुण्डमा स्नान गर्न जाने बिरामीलाई लक्षित गरी घरको कोठापिच्छे ग्यासको चुल्यो राख्दा जोखिम बढेको भन्दै स्थानीय सरोकारवाला निकायले हटाउने निर्णय गरे । म्याग्दी सहित विभिन्न जिल्लाबाट प्राकृतिक उपचारस्थल मानिएको कुण्डमा स्नान गर्न आउने बिरामीलाई कोठामा रहेको ग्यास चुल्होले खाना पकाउन सजिलो र सरल बनाइदिएको थियो ।

बृद्धबृद्धा तथा आफुँले खाना पकाएर खानेलाई बर्षौदेखि सजिलो भइरहेको अवस्थामा स्थानीय होटल ब्यवसायीको अगुवाईमा सरोकारवाला निकायको उपस्थितिमा भएको एक भेलाले कोठापिच्छे ग्यास सिलिण्डर नराख्ने निर्णय गरेको समाचार बेनीअनलाइनबाट सार्वजनिक भएपछि चौतर्फी आलोचना भयो ।

ब्यवसायीको घोषित सिन्डिकेट भन्दै सामाजिक सञ्जालमा निरन्तर होटल ब्यवसायीको चर्को आलोचना भएपछि पुनःबैठक बसेर निर्णय सच्चाइएको छ । तातोपानी होटल ब्यवसायी संघका अध्यक्ष मना शेरचन तुलाचनले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुलाई उच्च सम्मान गदैं पूरानो निर्णयलाई खारेज गरिएको बताउनुभयो । ‘होटल ब्यवसायीहरूले कोठापिच्छे राखिएको ग्यास चुल्हो जोखिमरहित नभएको भनेपछि अन्य सरोकारवालाको पनि सुझावमा निर्णय गरिएको थियो,‘अघिल्लो निर्णय खारेज गरिएको छ‘अध्यक्ष तुलाचनले भन्नुभयो ।

बेनीअनलाइनमा प्रकाशित उक्त समाचारमा करिब २ सय प्रतिक्रियामा सबैजसोले ब्यवसायीले ब्यापार नभएपछि घोषित सिन्डिकेट तथा ब्यापारको नाममा दादागिरी देखाएको भन्दै आक्रोश पोखेका छन्। केही होटल ब्यवसायीले भने उक्त निर्णयमा पहिले नै असहमति जनाएको समेत बुझिएको छ । बैठकमा सहभागी २० होटल ब्यवसायीले पहिलो निर्णयलाई असावधानी भन्दै अब कुनैपनि निर्णयमा हतार नगर्ने जनाएका छन् ।तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्टिक, बाथ, युरिकएसिड, हाडजोर्नी दुख्ने, सड्केको, मर्किएको, घाउ, खटिरा, नशासम्बन्धी लगाएत विभिन्न रोग निको हुने जनविश्वासले बर्षेनी २० हजार विरामी उपचारका लागि आउने गर्दछन् ।

 

Leave a Reply