म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नामले अन्नको मूल्य तथा दैनिक ज्याला निर्धारण गरेको छ । दग्नाममा आयोजित आम भेलाबाट गाउँमा उत्पादित रैथाने खाद्यान्न बालीको भाउ, कामदारको दैनिक ज्याला, घिउ–महको मूल्य, घरपालुवा पेय पदार्थको मूल्य लगायतको खरिद बिक्री मूल्य निर्धारण गरिएको हो ।

वडामा उत्पादन हुने बालीहरुमा आलु १ पाथीको रु २०० सय, मकै पाथी रु २००, कोदो, पाथी रु २५०, जौँ पाथी रु २००, गहुँ पाथी रु २००, औवा पाथी रु २००, सीमी पाथी रु ७००, भट्मास पाथी रु ४००, केराउ पाथी रु ४००, रजुला पाथी रु ७००, बोडी पाथी रु ७००, फापर पाथी रु २५०, रक्सी १ जम्मु रु १५०, जाड १ जम्मु रु १००, घ्यु र मह १ माना रु १०००, बेसार १ माना रु १५० र टिम्मुर १ मानाको रु ४०० निर्धारण गरिएको वडा अध्यक्ष पविन गर्वुजाले बताउनुभयो ।

त्यस्तै खेतिपाती ज्यालातर्फ असार र साउन महिना खाजा सहित रुं ७००, सुख्खा रु. ८००, बिहान ७ बजेबाट बेलुका ६ बजे सम्म काम गर्नुपर्ने, अन्य महिनको ज्याला खाजा सहित रु. ६००, बिहान ८ बजेबाट ५ बजे सम्म काम गर्नुपर्ने गरि निर्धारण भएको छ ।

मिष्ट्री ज्याला दक्ष कामदार रु १०००, अर्धदक्ष कामदार रु ९००, अदक्ष कामदार रु. ८००, खेतको गारो लगाउने रु ७००, हल गोरु हलि सहित एक दिनको ज्याला रु १६००, आरा कात्ने जोडी एक दिनको ज्याला रु २०००, मेशिनबाट काठ चिर्ने प्रति घण्टा रु १५०० कायम गरिएको अध्यक्ष गर्वुजाले बताउनुभयो ।प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन गर्न वडाका जनप्रतिनिधिले दग्नामवासीलाई एक ठाउँमा भेला गरी एक वर्षका लागि चली आएको मौलिक परम्परा र रिति थितिको बारेमा नीति नियम बनाउँदै आएका छन् ।

आम भेलाबाट पारित गरिएको नीति नियम समुदायले व्यवहारमा लागु नगरेमा वडा कार्यलयबाट पाउने सेवा सुविधा देखी समेत बञ्चित गरिने वडा अध्यक्ष गर्बुजाले बताउनुभयो ।

भेलामा गाउँमा रहेका विभिन्न संघ संस्थाहरुले आर्थिक बर्ष २०७८÷०७९ को आय व्यय सार्वजनिक गरेका थिए । निति निमार्ण तथा छलफल भेलामा वडाध्यक्ष, वडा सदस्य, आमा समूहका प्रतिनिधि, क्लबका प्रतिनिधि स्वास्थ्य चौकीका प्रमुख, बन उपभोक्ता समिति, तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply