‘माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्ति क्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम
काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम ?’ (- राष्ट्रकवि माधव घिमिरे)
‘कालीगण्डकी’मा शालिग्रामको उत्पत्तिको सन्दर्भलाई लिएर कालीगण्डकीसँग प्रश्न गरिएको प्रस्तुत सन्दर्भले शालिग्रामको पवित्रता र महिमागानलाई झनै बढाएको छ । हिन्दु धर्मशास्त्रहरूमा शालिग्रामलाई भगवान् विष्णुको शिला स्वरूपका रूपमा वर्णन गरिएकाले यसको धार्मिक महत्वका साथै अनौठो बनोटका कारण पनि शालिग्राम सबैको चासोको विषय बन्दै आएको छ ।
श्रीस्वस्थानी व्रतकथामा विष्णु भगवान्ले जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गरेर महादेवले जालन्धरको वध गरेपछि विष्णुलाई वृन्दाले दिएका चार श्रापमध्ये एक शिला हुनुपरोस् भनी श्राप दिएकीले शालिग्राम स्वरूपमा रहनुपरेको उल्लेख छ । शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महìव भएकाले यसकोे खोजी गर्नेहरू बर्सेनि बढ्दै गएका पाइन्छन् ।
मुस्ताङको कागबेनीदेखि देवघाट (तनहुँ, नवलपरासी र चितवनको सङ्गम)सम्म शालिग्राम पाइने भएकाले यस क्षेत्रलाई ‘शालिग्राम क्षेत्र’का रूपमा लिने गरिन्छ । मुस्ताङ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले अवैध रूपमा शालिग्राम सङ्कलन गरेर लैजाने गरेका कारण पछिल्लो समय कालीगण्डकीमा शालिग्राम पाइन छाडेको बताइन्छ । ६० वर्षअघि कालीगण्डकी नदी किनारमा फेला पारेको शालिग्रामलाई बेनीका अङ्गद श्रेष्ठले दैनिक रूपमा पूजा गर्दै आउनुभएको छ । “म सानै छँदा कालीगण्डकी स्नान गर्न गएको थिएँ, नदी किनारमै ठूलो अनौठो शिला देखँे र उठाएर घरमा ल्याएँ । अहिलेसम्म पूजा गरिराखेको छु,” ८१ वर्षीय श्रेष्ठले भन्नुभयो ।
श्रेष्ठले घरमा पूजा गरेर राखेको शालिग्राम निकै वजनदार छ । “यो सक्कली शालिग्राम हो, म यो शालिग्राममा सुदर्शन चक्रको आकार देख्छु,” उहाँले भन्नुभयो, “ढुङ्गामा चक्र हुनुपर्छ, चक्र नभएको शालिग्राम सक्कली शालिग्राम मानिँदैन ।” पहिलाजस्तो अचेल नदी किनारामा शालिग्राम फेला पार्न सकिँदैन । अहिले माथि मुस्ताङतिरै चोरी उत्खनन हुन्छ । तलसम्म नदीले बगाएर ल्याउनै पाउँदैन । शालिग्राम कालो, चिल्लो र चक्रसहित तर रेसारहित हुने श्रेष्ठले बताउनुभयो । याे खबर आजकाे गाेरखापत्र दैनिकमा छ ।