म्याग्दीका कक्षा ११ र १२ का शिक्षकले समेत सरकारले आफ्ना आधारभुत माग सम्बोधन नगरेको भन्दै कालोपट्टी बाँधेर अध्यापन गरेका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन) म्याग्दीले केन्द्रिय कार्यक्रम अन्तरगत म्याग्दीमा समेत घोषित आन्दोलनलाई निरन्तरता दिएको जनाएको छ ।

हिस्टुन म्याग्दीका अध्यक्ष कबिराम थापाले सरकारले कक्षा ११ र १२ का शिक्षकलाई दोस्रो दर्जाको नागरिक सरह ब्यवहार गरेको बताउँदै ३० भदौमा कक्षा ११ र १२ अध्यापन हुने विद्यालयमा पेनडाउन गरी पठनपाठन एक दिनका लागि स्थगन गरिने बताउनुभयो । ‘शैक्षिक जनशक्ती उत्पादनमा हाम्रो योगदानलाई सरकारले बेवास्ता गरेको छ,‘हामीले बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न परेको छ’ अध्यक्ष थापाले भन्नुभयो ।

हिस्टुनका माग योगदानका आधारमा भएकाले पूरा गर्ने वातावरण बनाउन समेत अपिल गरिएकोमा आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने अध्यक्ष थापाको भनाई छ ।हिस्टुनले शिक्षक दरबन्दी र व्यवस्थापनमा सरकारले ध्यान दिनु पर्ने, उच्च माध्यमिक तहमा लामो समय सेवा गरी उमेरका कारणले अनिवार्य अवकासमा जाने शिक्षकलाई विशेष सुविधाको व्यवस्था गर्नु पर्ने शिक्षकहरुको माग छ ।

लामो समयदेखि कार्यरत शिक्षकको भविष्यसमेत अनिश्चित बनाएपछि आन्दोलनको विकल्प नभएको म्याग्दीका शिक्षकको भनाई छ । म्याग्दीमा हिस्टुनमा आवद्ध ५० भन्दा बढी शिक्षक छन् । साबिक उमाविमा आंशिक, अनुदान र अस्थायी दरबन्दीका तीन प्रकारका शिक्षक कार्यरत रहेका छन् ।

Leave a Reply