गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल र तेक्वाण्डो खेल म्याग्दीमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरकेो खेलस्थलमा महिला भलिबल र तेक्वाण्डो खेल म्याग्दीको सदरमुकाम बेनीमा हुने तय गरिएको छ ।

गण्डकी प्रदेशका छ जिल्लामा खेलकुद प्रतिस्पर्धा हुने खेलस्थल तय भएसँगै म्याग्दीको लामो प्रयास र सक्रियताले समेत सफलता प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताए । ‘हामीले मागेका दुवै खेल म्याग्दीमा हुने भएको छ,‘खेलमैदानका लागि मर्मतका लागि बजेट समेत प्राप्त भएको छ’ अध्यक्ष केसीले भने । राखेपले भलिबल र तेक्वाण्डो खेलाउन छनोट भएको स्थानमा आवश्यक उपकरण जडान सहितको बजेट समेत केहीदिनमै पठाउने बताइएको छ ।

राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीको गृह जिल्ला समेत रहेको म्याग्दीले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालनको अवसर पाएको छ । जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले महिला भलिबलका लागि म्याग्दी छनौटले राष्ट्रिय भलिबलकी कप्तान शाहीको समेत सम्मान भएको बताए ।

उनले भलिबल खेलमार्फत म्याग्दीको उचाई समेत थप बढ्ने भएकाले सभ्य र भब्य रुपमा सञ्चालन गर्नुपर्ने बताए । भलिबल खेलको स्थान छनौटका लागि राखेपको टोलीले समेत विभिन्न चरणमा स्थलगत अनुगमन गरेको थियो ।

राखेपले गण्डकी प्रदेशका ११ वटा जिल्लालाई नै समेटेर खेलकुद कार्यक्रम राख्ने बताएपनि कास्की, म्याग्दी, बाग्लुङ, नवलपुर, स्याङ्जा र पर्वत गरी ६ जिल्लामा मात्र हुने तय गरेको छ । म्याग्दीमा भलिबल र तेक्वाण्डोको माध्यमबाट पर्यटन प्रर्वधनमा समेत सघाउने छ । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने तालिका छ ।

Leave a Reply