पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आज (बुधवार) सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा पोषण, खाद्य तथा सुरक्षा निर्देशक समितिको वैठक तथा सिकाई आदानप्रदानसहित गोष्ठी गरिएको हो ।

गोष्ठीको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले पालिकाको पोषण तथा स्वास्थ्य अवस्था सुधार गर्न रैथाने बाली संरक्षण, व्यावसायिक केरा खेती, सुन्तलाको पकेट क्षेत्र स्थापनालगायत कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । उहाँले भैंसीलाई सुत्केरी भत्ता, नमुना बाख्राको खोर निर्माण र बालविकासका बालबालिकाहरुलाई दिवा खाजासँगै एकएक गिलास दुध दिने कार्यक्रम लागू गरी कार्यान्वयन गरिएको बताउनुभयो ।

मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले समुदायस्तरमा पुगेर महिला तथा बालबालिकाहरुको पोषण अवस्थामा सुधार ल्याउन सुआहारा कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभयो । उहाँले पालिकाको ग्रामीण समुदायमा अझै पनि पोषण तथा स्वास्थ्य अवस्था सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै सुआहारा कार्यक्रमको निरन्तरताका लागि गाउँपालिकामार्फत आवश्यक पहल गरिने बताउनुभयो ।

सुआहारा कार्यक्रमका निर्देशक ब्रह्मध्वज गुरुङले समुदायका महिला तथा बालबालिकाहरुको पोषण अवस्था सुधार गर्ने मुख्य जिम्मेवारी पालिका र जनप्रतिनिधिको रहेको बताउँदै प्रस्तुत स्वास्थ्यका तथ्याङ्कहरुको विश्लेषण गर्दा सुधारोन्मुख देखिएको धारणा व्यक्त गर्नुभयो । मंगला–२, बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती क्षत्रीले समुदायस्तरमा महिला तथा बालबालिकाहरुको पोषण अवस्था सुधार गर्नका लागि सुआहारा तेस्रो चरणको कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा मंगला गाउँपालिकाको स्वास्थ्य शाखाका अनमी पार्वती पन्त, कृषि शाखाका नायव प्राविधिक सहायक तारा बानियाँ, पशु शाखाका नायव प्राविधिक सहायक आकाश जिसी, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, सुआहारा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारी र फिल्ड संयोजक बालकुमारी पुनले आ–आफ्नो शाखा, संस्था र कार्यक्रममार्फत सञ्चालित गतिविधिहरुसहित प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको अवसरमा गाउँपालिकाको पोषण तथा स्वास्थ्य अवस्था सुधार गर्नका लागि विभिन्न सातबुँदे प्रतिबद्धता समेत जारी गरिएको छ ।

सुनौलो हजार दिनको महिला एकमाया बुढाथोकीलाई पोषणयुक्त खानेकुरा हस्तान्तरण गरी गोष्ठीको उद्घाटन गरिएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीको स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश र उद्यम विकास सहजकर्ता बबिता पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय स्रोतव्यक्ति रेशम बुढाथोकी र महिला स्वास्थ्य स्वयंसेविका यामकुमारी आचार्य अनुभव सुनाउनुभएको थियो ।

Leave a Reply