जिल्ला भलिबल संघ म्याग्दीले विश्वभर रहेका खेलप्रेमी म्याग्देलीलाई समेत समेट्न थालेको छ । भलिबलका लागि उर्वरभूमी मानिने म्याग्दीबाट रोजगार, शिक्षा तथा विभिन्न कारणले प्रवासमा रहेका म्याग्देलीहरू माझ पुग्ने गरी प्रवासी संरक्षक एवम् सल्लाहकार चयन गरेको हो ।

संघको जिल्ला समितिको बैठकबाट मोना अन्तराष्ट्रियका बरिष्ठ उपाध्यक्ष एवम् एनआरएनए एसिया प्यासिफिकका उपसंयोजक ददीवल खड्कालाई प्रवासी संरक्षक र मोना जापानका सल्लाहकार राम खड्कालाई सल्लाकार चयन गरेको संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । उनले प्रवासमा योगदानका आधारमा थप सल्लाहकार समेत चयन गरिने बताए ।

‘हामीले प्रवासमा रहेका म्याग्देलीहरुलाई समेट्ने प्रयासमा छौ,‘म्याग्दीको भलिबलमा प्रवासमा रहेकाको योगदान धेरै छ’ अध्यक्ष बानियाँले भने। उनका अनुसार प्रवासमा समेत संघले समिति विस्तार सहित भलिबलका खेलाडी तथा पूर्व खेलाडी, प्रशिक्षकसँग नियमित सम्बन्ध स्थापित गर्ने योजना बनाएको छ ।

हाल चयन गरिएको प्रवासी संरक्षक र सल्लाहकार अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारका स्थायीबासी हुन् । जिल्ला भलिबल संघले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य रुपमा मनाउन आवश्यक सबै शक्ती प्रयोग गर्ने समेत जनाएको छ । त्यस्तै जिल्लाभित्रका सबै स्थानीय तहको वडास्तरसम्म प्रशिक्षण सहितको गतिविधिलाई समेत निरन्तरता दिने जनाएको छ ।

Leave a Reply