गण्डकी प्रदेशको लाइफलाइन कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दानाको मुस्ताङबाट फर्किएको स्कोर्पियोमाथि झण्डै ढुंगा बजारिएन् । पैदलमार्गमा रहेका यात्रु र स्कोर्पियो केही सेकेण्डले ठूलो दुर्घटनाबाट जोगिए । एक यूवाले खिचेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा फाइरल छ । यो एउटा प्रतिनिधिमुलक घटनामात्रै हो ।

उत्तरी म्याग्दी हुदै मुस्ताङ जाने यात्रुले बर्खाको समयमा दैनिकजसो ज्यानको जोखिम राखेर यात्रा गर्नुपर्ने बाध्यता छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दी खण्डमा यात्रुले बर्खे भेल, नजिकै सडक माथिबाट ढुंगा खस्दा चोटपटकसँगै लामो समयसम्म सडक अवरुद्ध हु्दाँ पदैलमार्गबाटै गन्तब्यमा पुग्नुपर्ने बाध्यता छ। बर्खाको समयमा असारदेखि असोज महिनासम्म बर्षेनी सडकखण्डमा यात्रुले ज्यान गुमाउने गरेका छन ।

मुक्तिनाथ दर्शनका लागि आएका नेपाली तथा भारतीय तिर्थयात्रीले बर्खाको समयमा पहिरो र ढुंगाले चोट लागेर ज्यान गुमाउने भएकाले चारमहिना सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो । सडकखण्डअन्र्तगत गुईठे, रुप्से छहरा, काभ्रेभीर लगायतका स्थानमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको पर्यटन ब्यवसायी एवम् सडकका सुपरभाईजर इन्द्रसिंह शेरचनले बताए ।

यहाँ सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमितजसो सो सडकमा ओहोरदोहोर गरिरहने चालकको भनाई छ ।

म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोंच छिचोलेर उर्लदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरो रहेको बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ ।

लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण कालीगण्डकी कोरिडोर आयोजनालाई समेत म्याग्दी खण्डमा काम गर्न निकै समस्या भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत सबैभन्दा जोखिमपुर्ण म्याग्दीको दाना देखी मुस्ताङको घाँसासम्म पर्छ । यसबर्ष बर्षासंगै सडकखण्डका विभिन्न स्थानमा कटान र पहिरोले छियाछिया सडकका कारण मुस्ताङमा उत्पादित स्याउ ढुवानीमा समस्या भएको छ ।

Leave a Reply