म्याग्दीको सदरमुकाम बेनीमा डेंगु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरिएको छ । १३ जनामा संक्रमित भेटिएपछि बेनी नगरपालिका वडा नं ७ र ८ ले डेंगु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रममार्फत अभियान सुरु गरेको हो । स्वास्थ्य कार्यालय र भ्याली कलेज काठमाडौको प्राविधिक सहयोगमा बेनीबजारमा सचेतनामुलक कार्यक्रमको शुभारम्भ गरिएको छ ।

जिल्लामा संक्रमणको संख्या बढ्दै गएको र एक जना डेंगु पोजेटिभलाई अस्पतालमा भर्ना गर्नुपरेको अवस्थामा डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको हो ।

एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसहित टोलटोलमा जनचेतनामूलक कार्यक्रमसमेत सुरू गरिएको छ।

बेनीबजारमा आयोजित कार्यक्रममा नगरपालिकाकी उपमेयर ज्योति लामिछाने, वडा नं ७ का अध्यक्ष एवम् प्रबक्ता रमेशकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष उत्तम कर्माचार्य, स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्साल,कार्यपालिका सदस्य तथा वडा सदस्यहरु सृजना श्रेष्ठ, सुजाता किसान लगायत वडाका जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

कार्यक्रममा भ्याली कलेज काठमाडाका ब्याचलर अफ पब्लिक हेल्थका विद्यार्थी लोकेन्द्र सिं धामी र रमेश बहादुर रोकायले सहजीकरण गरेका थिए । सोही अवसरमा डेंगु रोग परिचय, लक्षणहरु, बच्ने उपाय, रोकथामका उपायहरू, ईतिहास, म्याग्दीमा डेंगु रोगको अवस्था र प्रभावका बारेमा जानकारी गराइएको थियो ।

बेनीमा सर्च एण्ड डिस्ट्रोए कार्यक्रममा जोड दिनुपर्ने, विद्यालय स्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन, बिरामीले हेलचक्राई गर्न नहुने, स्वास्थ्य कर्मीसँग परार्मस नगरी औषधी सेवन गर्न नहुने जस्ता जानकारी गराइएको थियो ।

डेंगीको संक्रमणबाट बच्नका शुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सेचतनामुलक कार्यक्रम वडा वडामा पु¥याउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।

डेंगुबाट जोगिन वनजङ्गलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनेलगायतका सतर्कता आवश्यक रहेको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले बताउनुभयो ।

उहाँले लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा राख्न पनि अनुरोध गर्नुभएको छ।डेंगु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

Leave a Reply