ओशो तपोवनका संस्थापक आध्यामिक गुरु बोधिसत्व स्वामी आनन्द अरुण बागलुङ आउने भएका छन्। ओशो अमृतम ध्यान केन्द्र बागलुङले आयोजना गरेको जीवनोपयोगी आध्यामिक सत्संग कार्यक्रममा प्रवचनका लागि उनी सोमबार बागलुङ आउन लागेका हुन्।

भगवान ओशो रजनीशबाट ज्ञान प्राप्त गरी बोधिसत्व प्राप्त गरेका स्वामी आनन्द अरुणलाई बागलुङमा ल्याएर सत्संग कार्यक्रम गर्न लागिएको ओशो अमृतम ध्यान केन्द्र बागलुङकी सञ्चालिका ज्योत्सना शाक्यले बताइन्। ‘स्वामी आनन्द अरुण भगवान ओशोबाट ज्ञान लिएर बोधिसत्व प्राप्त गर्नुभएको पहिलो र एक मात्र स्वामी हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँको मुखारवृन्दबाट आध्यात्मिक र जीवनोपयोगी प्रवचन कार्यक्रम हामीले बागलुङमै आयोजना गरेरका छौं। असोज ३ गते सोमबार उहाँ बागलुङमा आउँदै हुनुहुन्छ।’

ओशो रजनीशले प्रतिपादन गरेको सन्यासी हुनु भनेको भौतिक काम र दुनियाँबाट टाढा हुनु होइन भन्ने दर्शनलाई स्वामी आनन्द अरुणले प्रचार प्रचार गरिरहेको उनको भनाइ छ। ‘भौतिक सुख सुविधा त्यागेर कुटीमा बस्नु मात्रै सन्यासी होइन भन्ने ओशो रजनीशले भन्नुभएको छ,’ उनी भन्छिन्, ‘त्यही कुरालाई ओशोका हामी अनुयायीहरु मान्दै आएका छौं र स्वामी आनन्द अरुणले त्यसको प्रचार प्रसार गरिरहनुभएको छ। सन्यासी हुनु भएको मनले सत्मार्गमा लाग्नु हो। तपाई मनबाट सन्यासी हुनुभयो भने तपाईले जे काम गर्नुहुन्छ तपाईको जे पेशा हो त्यो पेशा गर्दा गर्दै पनि सन्यासी बन्न सक्नुहुन्छ।’

ज्ञान र ध्यानलाई एक साथ जोडेर अगाडि लैजानुपर्छ भन्ने ओशोको मान्यतालाई नेपाल र नेपाल बाहिर पनि प्रचार गर्ने काममा स्वामी अरुणले थुप्रै काम गरेको उनको भनाइ छ। ‘पश्चिमा देशले विज्ञान मार्फत् विकास गरेर ज्ञानको प्रचार गरिरहेका छन्, हामी नेपालीले ध्यानको प्रचार विश्वामा पुर्‍याउनुपर्छ भन्ने स्वामी ज्यूको लक्ष्य छ,’ उनी भन्छिन्, ‘नेपाल एउटा उत्कृष्ट ध्यानकेन्द्र हो यहाँका हरेकले विश्वलाई ध्यान सिकाउन सक्नुपर्छ भन्ने कुरामा स्वामीज्यू दृढ हुनुहुन्छ।’

संसारभरका एक लाख ३० हजार बढी व्यक्तीलाई ध्यान र ज्ञान प्रदान गरेर सत्मार्गका लाग्न स्वामी आनन्द अरुणले प्रेरित गरेको उनी बताउँछिन्। भौतिक र आध्यात्मिक दुवै क्षेत्रको समन्वय एवं योग र ध्यान मार्फत जीवनको सकारात्मक रुपान्तरणका लागि बागलुङमा आम व्यक्तिहरुलाई प्रेरित गर्नका लागि स्वामी आनन्द अरुणलाई बागलुङ बोलाइएको उनले बताइन्।

‘अहिले हाम्रो लागि स्वामी आनन्द अरुण भगवान ओशोलाई भेटे जस्तै हो,’ उनी भन्छिन्, ‘बोधिसत्व प्राप्त गरिसक्नुभएका उहाँको महान वाणीहरुबाट प्रेरित भएर यहाँका आम व्यक्तिहरुको जीवनमा सकरात्मक रुपान्तरण होस् भनेर हामीले बागलुङमा उहाँलाई ल्याउन लागेका हौं।’ असोज ३ गते बागलुङ नगरपालिका-३ राधाकृष्ण मन्दिरको सभाहलमा दिनको १२ बजेदेखि दुई घण्टासम्म बोधिसत्व स्वामी आनन्द अरुणको सत्संग कार्यक्रम हुने उनले बताइन्।

बागलुङका सबै आम नागरिकदेखि विभिन्न ओहोदाका व्यक्तिहरुले उक्त सत्संगमा भाग लिन सक्ने बताइएको छ। स्वामी आनन्द अरुणलाई सोमबार बिहान १० बजे मालढुङ्गाबाट मोटरसाइकलले स्कटिङ गरेर ल्याउने र यहाँको नेवारी संस्कृति भेषभुषा र संस्कारले स्वागत गरिने कार्यक्रम तय गरिएको छ। स्वामी आनन्द अरुण पेशाले सिभिल इञ्जिनियर हुन्।

स्वामी आनन्द अरुण स्वामी सुरु गरेको जन्मदिनमा हरेक व्यक्तिले कम्तीमा पाँच वटा रुख रोप्ने अभियान अहिले वातावरण संरक्षणका लागि महत्वपूर्ण शिक्षा बनेको छ। राधाकृण मन्दिरको सभाहलमा करिब पाँच सय जना सहभागी अट्नेगरी कार्यक्रमको व्यवस्थापन मिलाइएको आयोजक ओशो अमृतम ध्यान केन्द्र बागलुङकी अध्यक्ष लिलादेवी खड्कोले बताइन्।

सत्संग सकिएपछि उनलाई यहाँको धार्मिक पर्यटकीय क्षेत्रहरुको भ्रमण गराउने समेत योजना रहेको सञ्चालिका शाक्यले बताइन्। ‘यहाँको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको बागलुङ नगरपालिका-४ कुँडुलेको शालिग्राम संग्रहालय, बागलुङ कालिका मन्दिरमा स्वामी आनन्द अरुणलाई भ्रमण गराउँछौं,’ उनी भन्छिन्, ‘कालिगण्डकीमा पुग्ने उहाँले इच्छा देखाउनुभएको छ।’

स्वामी आनन्द अरुणको प्रत्यक्ष निगरानीमा अहिले देशभर एक सय बढी ध्यान केन्द्र र ६ वटा आश्रमहरु सञ्चालनमा रहेको बताइन्छ। स्वामी आनन्द अरुणले विश्वका ३० बढी देशमा समेत ओशो ध्यान केन्द्रमा सञ्चालनमा ल्याएका छन्।

Leave a Reply