गएरातीको अविरल बर्षाले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने जिल्लाको मालढुंगा –बेनी सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको ज्यामिरे भन्ने ठाउँमा पहिरो खसेपछि आवतजावत बन्द भएको हो ।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ।  बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ।

मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ। विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदूर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ।

सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवतजावत प्रभावित हुने गरेको छ भने यात्रुलाई समेत यात्रामा जोखिम मोल्नुपरेको छ । बर्खामा पहिराले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झन्झट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको छ।

 

Leave a Reply