उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आज (आइतबार) सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकसँगै गोष्ठी गरिएको हो ।

गोष्ठीमा गाउँपालिकाभित्र पोषण तथा स्वास्थ्यको अवस्थामा सुधार ल्याउन स्थानीय सरोकारवालाहरुले जोड दिएका छन् । गाउँपालिकामा पोषण एवं स्वास्थ्यको अवस्थामा सुधार ल्याउन पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकले स्वास्थ्य र पोषणसम्बन्धी विभिन्न गतिविधिहरु सञ्चालन गर्नका लागि विविध विषयहरुमा प्रतिबद्धता जनाउँदै कार्यान्वयनका लागि निर्णय समेत गरिएको छ ।

सुनौलो हजार दिनको महिला सङ्गीता परियारलाई पोषणयुक्त खानेकुरा दिएर गोष्ठीको उद्घाटन गर्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको पोषण अवस्था सुधार गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सकभर सुआहारा कार्यक्रम थपिएर आउला । यदि सुआहारा आएन भने पनि हामी गाउँपालिका आफैले पनि बजेट व्यवस्थापन गरी पोषण तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नेर्छौं ।’ सुनौलो हजार दिनका महिलाहरुलाई लक्षित गरेर पोषणका कार्यक्रममा जोड दिइने उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भण्डारीले चालु आर्थिक वर्ष २०७९÷०८० मा पोषण तथा स्वास्थ्यका सूचकहरुमा सुधार भएको पालिकाको कुनै एउटा वडा छनोट गरी पोषणमैत्री वडा घोषणा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सोही कार्यक्रममा गाउँपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले कुपोषणलाई न्युनीकरण गर्न पोषणयुक्त खानेकुरा तथा सन्तुलित भोजन उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मौसमी फलफुल तथा हरिया सागपातको प्रयोग गर्नुपर्ने भन्दै नियमित रुपमा सरसफाइमा ध्यान दिनुपर्ने, हरेक हप्ताको १ दिन टोल विकास समितिमार्फत समुदाय वरपर सरसफाइ गरी स्वास्थ्य, सरसफाइ र शिक्षामा विशेष ध्यान पु¥याउनुपर्ने बताउनुभयो । गाउँपालिकाका प्रवक्ता एवं वडानम्बर ६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुन्जाले गाउँपालिकाको समग्र पोषण तथा स्वास्थ्यको अवस्थामा सुधार ल्याउन स्वास्थ्य क्षेत्र मात्र नभई सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभयो ।

गोष्ठीमा पालिकाको स्वास्थ्य शाखाका प्रमुख टिकाबहादुर शाही, कृषि शाखाका प्राविधिक सहायक मनोज सुवेदी, मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापा र सुआहारा कार्यक्रमको फिल्ड संयोजक बालकुमारी पुनले आ–आफ्नो शाखा, संस्था र कार्यक्रमको तर्फदेखि सञ्चालित गतिविधिहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका धुर्व केसी, नमुना ग्रामीण कृषक गौमती पुन र सुनौलो हजार दिनको महिला सङ्गीता परियारले अनुभव सुनाउनुभएको थियो । गोष्ठीको अवसरमा प्रमुख प्रशासकीय अधिकृत ढकाललाई मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले सुआहारा कार्यक्रमले निर्माण गरेको पालिका प्रोफाइल, पोषण योजनालगायत कागजातहरु हस्तान्तरण गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, लेखा अधिकृत खगराज सुवेदीको स्वागत र स्वास्थ्य शाखा प्रमुख शाहीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यलगायत वडाका जनप्रतिनिधि, पालिकाको विषयगत शाखाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । यसअघि सुआहाराको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरि गाउँपालिकामा सम्पन्न भैसकेको छ ।

Leave a Reply