धवलागिरी गाउँपालिका–१ मा अवस्थित बराह मन्दिरमा स्थानीयले आफ्नो मनोकामना पुरा गर्ने गरी देउता ‘खुसी पार्न’ हरेक बर्ष भब्य पूजा गर्छन् । मन्दिरमा पूजाआजा गर्न छेउमै रहेको बराह तालमा पानी जम्मा हुनुपर्छ ।
असारे झरीमा समेत पानी सङ्कलन हुने तालमा बराह आउनु पूर्व संकेतस्वरुप आफ्नो बहान भेडाको बथान निश्चित बार तथा दिनमा थान माथिको पाखोमा विहान १०–११ बजे भित्र मात्रै देखिनु अनौठो र आश्चर्यजनक भएको बुढापाकाको भनाई छ ।
असार–साउन महिनामा समेत सुक्का हुने तालममा खडेरी परेको बेलामा पनि मूल फुट्ने गरेकाले पनि स्थानीयले बराह मन्दिरमा विधि पूरा गरी पूजाआजा गर्ने गरेको स्थानीय यूवा सुमन छन्त्यालको भनाई छ । गूर्जामा रहेको देवताहरुमा बराहलाई शक्तीपिठको रुपमा पूजा गर्ने गरिन्छ। आज मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
जिल्लाको सदरमुकम बेनीदेखी २६ कोष पश्चिममा पर्ने गुर्जामा परापुर्वकालमा काली बराहले स्थानीयको ज्यान लिन थालेपछि सामुहिक पूजाबाट कालिबराहको शक्ती नष्ट गदैं अपाङ्ग गराउन स्थानीयले पानी समेत नखाई गरेको भाकल पुरा भएपछि भेडाको बलीले पूजा गर्ने गरिन्छ। मन्दिरमा पूर्वाधार सहित प्रचारप्रसारमा सहयोग गरेका मोना अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालले समेत गूर्जाको बराहको विषेशतालाई जति प्रचार गरे त्यती नै फाईदा हुने बताउँछन् ।
मन्दिरमा पूजाआजा गर्न बालक समेत पूजारी हुने परम्परा छ। एउटै बस्तीमा अवस्थित वडामा बसोबास गर्ने छन्त्याल र दलितले पूजा गर्ने मन्दिरमा अहिलेसम्म धेरैले भाकल गरी सन्तान प्राप्ती, बिदेश यात्रा, दुखकष्टको अन्त्य, नोकरीमा राम्रो लगाएतका गाउँका समस्यालाई समाधान गर्ने गरी दिनभरी पूजाआजा गर्ने गरेका छन् ।स्वदेश तथा विदेशमा दुःख पाएमा मन्दिरमा पुगेर सकुशल फर्किउन् भन्दै गाउँलेले पूजा गर्ने गरेको वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता झकप्रसाद छन्त्यालले बताए ।
तत्कालिन समयमा जिल्लाकै विकट गाउँ भएकाले पनि सरकारी सेवासुविधा,विकास निर्माण,शिक्षा,स्वास्थ्य लगाएतका आधाभुत आवश्यकता समेत नपुगेपछि स्थानीयले बराह मन्दिरलाई गुर्हाने गरेका थिए । पूजाको समयमा मन्दिरको माथिल्लो भागबाट आवतजावत गर्न मिल्दैन्। अटेर गरी आवतजावत गरेमा क्षती भएका विगतका घटनाले समेत स्थानीयले पूजाआजाको समयमा नियमित आवतजावत गर्ने बाटो नै बन्द गर्ने गरेका छन् ।
पूजाआजाको समयमा अनौठो दृष्य समेत देख्न सकिन्छ । भेडाको बली दिएका भक्तजनले भेडाका महत्वपूर्ण अंगलाई पात्रोको रुपमा हेर्ने गर्दछन् । पूजारी र स्थानीय बुढापाकाले पात्रोमा रहेका सम्पूर्ण पढेर सुनाउँछन् ।
आफ्नो मनोकामना पूरा भएको विश्वास गर्न बाली दिएकालाई समेत पात्रो अनुसार अगाडी बढ्ने गरेका छन् । पात्रोलाई देवताको आदेशका रुपमा समेत लिन्छन् । केही भक्तजनले पुनः पुजाआजा समेत गर्ने गरेका छन् । बराह मन्दिरले गुर्जाबासीको एकता, सहकार्यलाई समेत झल्काउने गरेको छ ।
विभिन्न राजनीतिक दलमा लागेर चुनावमा तिब्र प्रतिस्पर्धा गर्ने स्थानीयले पूजाको दिनमा सहकार्य, एकता र सद्भावको सन्देशलाई प्रवाह गर्ने गरेका छन् । बराह देवताले समाजको दुस्मनको अन्त्य गरेकाले पनि छन्त्याल र दलित समुदायले समुदायको हितमा हुने गरी पूजा गर्छन् । जीर्ण मन्दिर समेत स्थानीयकै प्रयासमा पूननिर्माण गरिएको छ ।
बराह मन्दिरका रोचक तथ्य
अग्ला पहाडमा रहेका तामाखानीको खोजीमा पुगेका छन्त्यालबासीले करिव ३ सयबर्ष अगाडी बस्ती विस्तार गरेसंगै गूर्जाबासीले बराह मन्दिरमा पूजाआजा गर्ने गरेका थिए । मानवबस्ती विस्तार भएको यकिन अभिलेख नभेटिएपनि जिल्लाकै पुरानो बस्तीको रुपमा चिनिन्छ ।
बहुमुल्य जडिबुटी, तामा, कार्ज नामक पत्थरको खानी समेत रहेको गूर्जाबासीले आफ्नो रक्षाका लागी बराहको पूजा गर्न सुरू गरेका थिए । मन्दिरमा गूर्जाबाट स्वदेश तथा विदेशमा रहेकाले भाकल गर्ने गरेका छन्। मन्दिरलाई स्थानीयले आफ्नो इच्छा पुरा गर्ने घरको रुपमा पूजा गर्छन् ।मन्दिरका बारेका धेरै रोचक तथ्यहरू मध्ये बराह आएकोमा स्वागत तथा विदाई स्वरुप गरिने पूजा पछि छोटो समय भित्र बराहको दह हराउने गरेको छ ।
बराहलाई हेपेर वा अटेर गरेर कुनै पनि बर्जित बस्तु वा सामान माथिबाट लगेमा वा बर्जित हुने कुनै पनि कार्य गर्नेलाई एकबर्षमै हानिनोक्सानी हुन्छ ।
बराह देवताले बेला बेलामा आफनो बहान हाँस लाई दलमाथि र भेडाहरुलाई पाखोमा देखाउने र स्थानीयलाई सजक बनाउने । आफुलाई बर्जित कार्य गरेमा हुरीबतास लगायत प्राकृतिक विपत्ती देखाईदिने, त्यस्तो विपत्ती भएमा बराहको नाममा नाम जुरेको व्यक्तिले धुपधजा गरी शरण परेमा सोको रोकथाम गर्ने गरिन्छ ।बराहको बहान भेडा देखा परेदेखि पुजा नगर्दासम्म थान माथिको बाटोमा हिडने मानिसले पकाएका कुनै पनि परिकार,जाँडरक्सी जस्ता पेय पदार्थ लिएर हिड्न पाइदैन।
सुत्केरी परेको कुनै घर परिवारका सदस्यले २२ दिन नपुग्दा सम्म थान माथिको बाटो प्रयोग गर्न मिल्दैन त्यसैले सो परिवारले थान मुनीको घुमाउरो बाटो प्रयोग गर्न अनिवार्य छ । पुजाको दिनमा सुत्केरी परिवारले सहभागि हुन पाउदैन र सो परिवारको दाजुभाइले समेत थानमा गएर धुपधजा गर्न पाइदैन ।बराहको पूजामा भेडाको साँढ बाहेक कुनै पनि पशुपन्छीको बली दिईदैन ।