राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारीहरुको स्तरीकरण कार्यक्रम अन्तरगत आवद्ध सहकारी संस्थाहरुका बीच केयर समिक्षा कार्यक्रम मंगलबार बेनीमा सम्पन्न भएको छ । केयरमा आवद्ध बेनी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा म्याग्दी, बागलुङ र पर्वतका १२ वटा संस्थाको वित्तीय अवस्था, सुशासन र आन्तरिक व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो ।

सहकारीहरुलाई थप व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि रणनीतिक योजना निर्माण गर्ने, संस्थागत पूँजि वृद्धिको योजना बनाउने, सञ्चालक समिति र उपसमितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, तरलता व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो ।

सहकारी संस्थालाई सिद्धान्त अनुसार सञ्चालन गर्न स्तरीकरण कार्यक्रममा सहभागी भएपछि बैंकको तर्फबाट वर्षमा ३ पटक संस्थागत रुपमा अनुगमन निरीक्षण गरी सुझाव दिने र सुझावहरु कार्यान्वयन गर्दै जादा संस्थालाई धेरै व्यवस्थित गराउन सहज भएको बताइएको थियो।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सदस्य सेवा विस्तार विभागीय प्रमुख रामबाबु आचार्य र स्तरीकरण विभागका अधिकृत नवकुमार अधिकारीले सहजीकरण गर्नु भएको थियो । उहाँहरुले संस्थाहरुको अवस्थाको बारेमा जानकारी गराउदै सुधारका लागि आवश्यक सुझावहरु समेत दिनुभएको थियो । उक्त कार्यक्रमले सहकारीको सञ्चालन सहित गुणस्तरीय सेवाको अभियानमा ठूलो सहयोग मिलेको को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीका सचिव एवम् लोकदिप सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

केयर कार्यक्रममा म्याग्दीको बेनी बचत बचत तथा ऋण सहकारी संस्था, लोकदिप बचत तथा ऋण सहकारी संस्था, मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्था, विश्वामित्र बहुउदेश्यीय सहकारी संस्था,संगिनी बचत तथा ऋण सहकारी संस्था, पर्वतको जलजला गाउँपालिकाको कृष्णगंगा बहुउदेश्यीय सहकारी, बागलुङबाट आदर्श सञ्चार सहकारी संस्था, एकता सहकारी संस्था, अभियान बहुउद्देश्यीय सहकारी संस्था, बागलुङ बहुउद्देश्यीय सहकारी संस्था, प्रगति बहुउद्देश्यीय सहकारी संस्था र शंखधर बहुमुखी सहकारी संस्था सहित १२ सहकारी संस्था सहभागि थिए। बेनी बचतका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सचिव माधवप्रसाद रेग्मी र स्वागत केयर कार्यक्रमका प्रमुख शिवकुमार श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply