म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थान पन्थोकीकी लक्ष्मी कुमारी मल्ल पुर्जाले मध्यरातमा जंगलको बाटो यात्रा गरी लगातार २४ घण्टासम्म प्रसव पीडा भएर पनि बच्चा जन्माउन नसकेको ओखरबोट सिस्नेरीकी गर्भवती महिलाको ज्यान जोगाईन्।

लक्ष्मीले जोखिम मोलेर समयमै पुगेकै कारण परिवारले समेतआशा मारिसकेकी महिलाले पुनर्जन्म पाईन्। दुई दशकसम्म देबिस्थान स्वास्थ्य चौकीमा कार्यरत रहँदा लक्ष्मीले जोखिम मोलेर यात्रा गरी बिरामीको उपचार गरेपनि यो घटनालाई सधै सम्झिन्छिन्। गर्भावस्थामा अत्यधिक रक्तश्राव भएका, बच्चा जन्मिसकेपछि पनि सालनाल अड्किएर ज्यान जोखिममा परेका धेरै गर्भवती तथा सुत्केरी महिलाको सेवा गरेकी छन्।

बि.स २०५० साल असार २० गते देविस्थान स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवामा प्रवेश गरेकी लक्ष्मीले देविस्थान र ओखरबोटमा सुत्केरी हुँदा आइपर्ने जटिल समस्यालाई घर–घरमा पुगेर नयाँ जीवन दिएकी छन् । करिब २२ बर्षसम्म देविस्थानको स्वास्थ्यचौकीमा कार्यरत लक्ष्मीलाई गाउँमा सबैले प्रिय ठान्छन् ।२४ घण्टा गाउँलेको सेवामा खटिएकी लक्ष्मीलाई गाउँलेले ‘डाक्टर’ भन्छन्।

गर्भवती र सुत्केरी महिलालाई जोगाउने क्रममा उनले काहलीलाग्दो भोगाइको सम्मान गदैं राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा जनसेवाश्री पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। ‘रगतमै लतपतिएका धेरै महिलाको उपचार गरेको छु,‘आज सेवा पदक पाउने खवरले धेरै उत्साहित भएको छु’लक्ष्मीले भनिन् ।उनले पदकले जिम्मेबारी थपिएको महसुस गरेको बताईन् ।

उनले ग्रामिण क्षेत्रमा महिलाको सेवा तथा नियमित उपचारमा संलग्न हुदाँ छुट्टै आनन्द आउने बताईन्। उनले हालसम्म करिब १ हजारभन्दा धेरै गर्भवती र सुत्केरीको सेवा गरेको बताईन् ।हाल दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अनमी लक्ष्मीले आफूले गरेको उपचारले धेरै नवजात शिशु र गर्भवती महिलाको ज्यान जोगिँदा जीवनकै सबैभन्दा ठूलो खुसीको अनुभूति हुने गरेको बताईन्।

‘उबेलामा सेवा लिएकाहरूले अहिले पनि बाटोमा भेटेपछि बोलाउँछन्,‘अहिले पनि घरबाटै समस्या परेमा सम्झिन्छन’ उनले भनिन् ।घरमा बच्चा जन्माउन हुन्न भन्ने सन्देश फैलाएकै कारण धेरै महिलाहरू स्वास्थ्य चौकीमै सेवा लिन आउने गरेको समेत बताईन् ।

देविस्थानबाट प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी लक्ष्मीलाई कोही बिरामी भयो, कसैलाई स्वास्थ्य सल्लाह चाहियो या नवजात शिशु रसुत्केरीहरूको स्याहारबारे दैनिकजसो गाउँबाट फोन आउने गरेको छ । सिनियर अनमी लक्ष्मीको सेवाबाट मालिका गाउँपालिका तथा प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, ब्यवस्थापन समिति समेत सन्तुष्ट छन् । यसबर्ष म्याग्दीमा लक्ष्मी सहित विभिन्न क्षेत्रका पाँच जनाले पदक पाउने भएका छन् ।

रघुगंगा गाउँपालिका–३ पिप्ले घर भई राष्ट्रिय महिला भलिबलका कप्तान अरुणा शाही,को मंगला गाउँपालिका–१ निवासी बरिष्ट संगीतकार दिपक शर्मा, बेनी नगरपालिका–९ घर भई जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा लिला बहादुर चोखाल र मुस्ताङको थासाङ गाउँपालिका २ घर भई म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा बसोबास गरि बेनी–जोमसोम–कोरला सडक आयोजनामा कार्यरत इन्द्रसिंह शेरचनलाई जनसेवाश्री पदक प्रदान गरिने भएको हो ।

 

Leave a Reply