हुन त एउटा उखान छ,‘काग कराउँदै छ, पिना सुक्दै छ’ अर्थात भन्ने भन्दै गर्छन,आफ्नो काम छोडनु हुन्न । गत साता बेनी साप्ताहिकले पशु बधस्थलले म्याग्दीका महिला उद्यमीको भवन बन्द समाचार प्रमुख प्राथमिकताका साथ प्रकाशित गरेपनि बेनी नगरपालिका सहित सरोकारवाला निकायले चासो देखाएनन् ।
बेनी नगरपालिका-२,हाडेभिरस्थित साझा सुविधा भवनमा अल्लो र ढाका बुन्ने महिला उद्यमी राँगा र भैसीको मासुका लागि केन्द्र नजिकै पशु बधशाला बनेपछि दुर्गन्ध फैलिएसँगै दुईबर्षदेखि विस्थापित भएका छन् । नेपालभरीका महिला उद्यमीहरूको अवलोकन केन्द्र बधशालाकै कारण बन्द हुदाँ समेत सरोकारवाला निकाय कानमा तेल हालेर बसेको महिला उद्यमीको गुनासो छ ।
दैनिकजसो ढाका र अल्लोका विभिन्न उत्पादन खरिद गर्न जाने, नियमित तालिम लिन तथा ब्यवसायिक उद्यमीलाई सामान्य मापदण्ड समेत नअपनाइ बधशाला सञ्चालन गरिँदा त्यहाँ पुग्दा नाक थुन्नुपर्ने अवस्था भएको छ। उद्यमीलाई प्रोत्साहन गर्ने निकायहरूमा महिला उद्यमीको पटक–पटकको अनुरोध र अवलोकनको क्रममा देखिएको समस्याहरू समाधान गर्न लिखित तथा मौखिक अनुरोध गर्दा समेत टुलुटुलु हेरेर बस्न बाध्य छ ।
बधशालामा राँगा तथा भैसी काटेपछि निस्कने हाड, छाला, लादी आदिको व्यवस्थापन नहुँदा समस्या भएको भन्दै उद्यमीले प्रश्न गर्दा नगरपालिकाले निर्माण गरेको पूर्वाधारसँगै नियमित कर तिर्ने गरेको भन्दै उल्टै प्रतिवादका कारण निरीह भएर फर्किनुपरेको छ ।
सीप र जाँगर भएपछि महिलाहरूको लोभलाग्दो आम्दानीको माध्यम बन्नुका साथै नयाँ उद्यमीहरूलाई आर्कषित गरेको भवन बधशालका सञ्चालक र जनप्रतिनिधिको बेवास्ताका कारण प्रयोगविहिन बनेको छ । दैनिक अल्लोका १० जना, कटन ब्यागको १२ जना र ढाकाको १६ जना उद्यमीले उत्पादन गर्ने गरेको अवस्थामा अहिले छरिएर कोठा तथा सार्वजनिक भवन खोल्दै हिड्न बाध्य छन् ।
अर्कोतर्फ बधशालामा राँगा तथा भैसी काटेपछि निस्कने हाड, छाला, लादी आदिले दुर्गन्ध फैलिएको छ । आम उपभोक्ताहरुलाई स्वच्छ र सफा मासु खुवाउनका लागि सुरक्षित स्थानमा लगेर वध गर्न सुरु गरेको प्रचारप्रसार गरिएपनि उक्त ठाउँ उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको पाइएको अवस्थामा सरोकारवाला निकाय समेत ’तै चुप मै चुप’ को अवस्थामा छन् ।
पशु बधशाला र मासु जाँच ऐन र त्यसका नियमावलीले पशु बध गर्नु अगाडि पशु जाँच गर्नुृपर्ने, इजाजतपत्र लिएर मात्र कारोबार गर्न पाइने, बध गरिएको पशुको मासु जाँच गर्नुपर्ने, जथाभावी पशु बध गर्न नपाइने, काटिसकेपछि रगत निथ्राउने, मासुमा भएको छाला काड्ने, खुइल्याउने, सफा गर्ने र भण्डारण गर्ने छुट्टै कोठा हुनु पर्ने प्रावधानहरु पालना गरिएको छैन् ।
मापदण्डभित्र रहेर सञ्चालन गर्न अहिलेसम्म दिइएको निर्देशन पालनै भएको छैन् । महिला उद्यमीलाई विस्थापित गर्ने गरी राखिएको बधस्थल सदरमुकाम नजिकै भएपनि सरोकारवालाहरूले बोल्ने बोल्दा बोल्दै थाक्छ, समाचार आउँछ, आउँदै गर्छ भने गरेकै कारण बधशालाले महिलाको आम्दानीलाई निमोठेको छ ।
महिला उद्यमीलाई विस्थापित गरी मापदण्ड विपरितको बधशाला राखेर महिलाको आर्थिक उन्नती र प्रगतिका भाषणा गर्नुको औचित्य छैन् । महिला सक्षम भए घर, परिवार समाज नै समृद्ध हुने भएकाले पनि रोजगारी सिर्जना, गरिबीको अन्त्यका लागि पुनः साझा सुविधा भवनलाई नियमित सञ्चालनको वातावरण बनाउनुपर्ने देखिन्छ। बेनी साप्ताहिक समाचारपत्रबाट साभार