---Advertisement---

सुत्केरी आमाको घरमा स्वास्थ्यकर्मी

On: September 21, 2022 12:34 PM
Follow Us:

म्याग्दीको उत्तरमा पर्ने अन्नपूर्ण गाउँपालिकाभित्रका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सुत्केरी आमाका घरघरमा पुग्ने गरेका छन्। गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम लिएर स्वास्थ्यकर्मीले सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

यो कार्यक्रम सुरु भएपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति हुने तथा बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको बताइएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुद्र बरुवालले कार्यक्रम सञ्चालन गरेर उपहार दिन थालेपछि गर्भ र सुत्केरी परीक्षण गराउने दर विगतको तुलनामा ३२ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको जानकारी दिनुभयो।

घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको प्रमुख बरुवालले बताउनुभयो। चार पटक गर्भ परीक्षण गर्दा एक÷एक क्रेट अन्डा र तोकिएको स्वास्थ्य संस्थामा प्रसूति हुनेलाई कुखुराको भाले दिने गरिएको छ।

गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजाले सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अन्डा दिने गरेको बताउनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा १२७ गर्भवती महिलाले तोकिएको स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनुभएको छ।