भित्ताभरी म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्यातीप्राप्त व्यक्तिहरुको स्केच कोरिएको छ । नजिकै लोकदोहोरीको लागि स्टेज तयार छ । झट्ट हेर्दा कुनै सभासम्मेलनका लागि तयार पारिएजस्तै देखिन्छ । म्याग्दी सदरमुकाम बेनीस्थित म्याग्दी उद्योग वाणिज्य संघको भुईतलामा सञ्चालनमा आएको एक रेष्टुरेण्टले आफ्नो ब्यवसायसँगै म्याग्दीलाई चिनाउने विभिन्न विधाका ब्यक्तिहरूको सम्मान सहित ग्राहकलाई आर्कषित गरेको छ ।

रघुगंगा गाउँपालिका–३ रानीपौवाका युवा जीवन कार्कीले ‘ऐश्वर्य अर्गानिक रेष्टुरेण्ट एण्ड रमाईलो घर’ को मेनुमा मकैभट्ट, कोदो, गहुँ र फापरको रोटी, मोही लगायतका परिकारलाई समेत प्राथमिकतामा राखेका छन् । आफ्ना परिकारमा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै ग्राहकहरुलाई यस्तै उत्पादनको स्वाद चखाउन थालेको कार्कीले बताए ।

उनले आफ्नो रेष्टुरेण्टमा यस क्षेत्रमा उत्पादन हुने कृषिजन्य उत्पादनको स्वादलाई प्राथमिकता दिएर खाना तथा खाजाका परिकार बनाइने बताए । ‘रेष्टुरेण्टमा आउने ग्राहकले अग्रानिकबाट सुरु गछौं,‘स्वादले अर्को पटक पुनः आउने बताउँछौ’ सञ्चालक कार्कीले भने। उनले मेन्यूमा खाजामा मकैभट्ट र मोही, कोदो, फापर, गहुँको पिठोको रोटी र चटनी, खानामा स्थानीय पिठोको ढिँडो, धानको चामलको भात, सिमीको दाल, आलु, गुन्द्रुक, सिस्नुको तरकारीका साथै यस क्षेत्रमै उत्पादन हुने खसीबोकाको मासुको स्वाद लिन पाउने छन भने तेलको प्रयोग हुने सबै परिकारमा गाइभैसीँको घिउको प्रयोग गर्ने बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाही, विश्व किर्तीमानी हिमाल आरोही निर्मल पूर्जा, वरिष्ठ गायक खड्क गर्बुजा, संगीतकार दिपक शर्मा, चर्चित गायक प्रकाश दुतराज, मोडल सुधिर श्रेष्ठ र चर्चित मोटो भ्लगर विविध जंग थापा लगायतका व्यक्तिहरुको चित्र राखिएकोमा थप म्याग्दीका पुराना स्थापित कलाकार तथा थाली नाचको प्रर्बधकलाई समेत समेट्ने बताए। दशैँ र तिहारको एक महिना औपचारिक उद्घाटन मानेर विशेष छुटमा खाजा, खाना खाने प्रवन्ध मिलाउने बताए । उक्त रेष्टुरेन्टमा साताको कम्तीमा एक पटक जिल्लाका मौलिक लोकदोहोरी, स्थानीय व्याण्ड र कलाकारहरुको साँगितिक साँझको प्रस्तुती समेत राख्ने जनाइएको छ । रेष्टुरेण्टमा करिब २५ लाख लगानी भएको कार्कीको भनाई छ ।

Leave a Reply