पश्चिम म्याग्दीको मालिका गाउँपालिका-४,लामखोराकी ९ बर्षिया बालिका घरभित्र आफ्नै सलले घाँटीमा पासो लगाएर आत्महत्या गरिन्। मंगला गाउँपालिका-५,सिर्कुममा १३ बर्षिय बालकले गोठको भुईतलामा गएर आत्महत्याको बाटो रोजे ।

कपीकलम, झोला लिएर विद्यालय गए भनेर ढुक्क भएका अभिभावकले आफ्नै कोखबाट जन्मिएको छोराछोरीलाई पासोमा देख्नुपरेको छ । मृत्युको कारण नखुलेपनि क्षणिक आवेगमा आएर मृत्यु रोजेको हुनसक्ने प्रहरीले घटनाबारे तयार पारेको स्थलगत मुचुल्कको नोटमा देखिन्छ । यी दुई वटा प्रतिनिधिमुलक घटना मात्र हुन ।

कलिलै उमेरमा आत्महत्या गर्नुको प्रमुख कारण विभिन्न फिल्मीमा आत्महत्या गर्ने खोजेपछि परिवारबाट आफ्ना माग पुरा भएका घटनाको सिको,अनुभव लिन, रिस थाम्नै नसकेर, परिवार र समाजबाट अपमानित हुनु, परीक्षामा फेल, प्रेममा असफल लगायतका कारणले आत्महत्या हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।आर्थिक बर्ष ७८÷७९ मा आत्महत्या गर्ने ३१ जनामा १८ बर्षमुनिका १ बालिका, २ बालक, १९-२५ उमेर समुहमा ३ महिला, ५ पुरुष छन् ।

पछिल्लो तीनबर्षको तथ्याङ्क हेर्दा म्याग्दीमा गतबर्ष सानो पासोमा जिवनको अन्त्य गर्ने संख्यामा तीनबर्ष यताकै रेकर्ड राखेको छ । झुन्डी, विष सेवन, हामफाली ज्यान गुमाउनेले हालसम्म आत्महत्या न्युनिकरण गर्न सहर देखी गाउँसम्म सञ्चालन गरिएका जनचेतनामुलक कार्यक्रम, मनोबैज्ञानिक परामर्श लगायत विभिन्न कार्यक्रमहरूलाई समेत चुनौती दिएको छ।‘कलिलो उमेरका बालबालिका आत्महत्या गर्ने अवस्थामा कसरी पुगे भन्ने अनुसन्धानको विषय बनाउनुपर्छ,‘हरेक बर्षको तथ्याङ्कमा कलिला अनुहार भेटिन्छन्’ म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले भने ।

कलिला बालबालिकादेखि ७०–८० बर्षका बृद्धबृद्धाले आफैले जानी–जानी गरिने आफ्नै हत्याले डरलाग्दो सामाजिक समस्या बनेको बताए।कलिलो उमेरका बालबालिकाले आत्महत्या गर्नुको कारण खोतल्न चुनौती खडा भएपनि अशिक्षा, अनिच्छित गर्भधारण, मानसीक रोगीलाई उपचारको अभाव, गरिवी, घरायसी कलह, युवापुस्ताका मासिनसमा उच्च महत्वकांक्षा पुरा गर्न नसकेको, प्रेममा असफल, बैदेशिक रोजगारमा गएको बेला श्रीमतिले परपुरुषसँग गर्ने अनैतिक सम्बन्ध, सम्पत्तीको अपचलन, पारिवारिक सम्बन्धमा आएको तिक्तता जस्ता कारणहरू रहेको बताइन्छ ।

जीवनमा एक सेकेन्डले पनि परिवर्तन सम्भव छ भन्ने सन्देश प्रवाह गर्न सकिएमा आत्महत्या रोक्न सकिने भएकाले एक पटक आत्महत्याको प्रयास गरेको मान्छेले फेरि प्रयास गर्ने सम्भावना बढी हुने भएकाले एकपल्ट टर्यो भनेर परिवारका सदस्यले सामान्य रूपमा लिन नहुने चिकित्सकको भनाई छ । विभिन्न अनुसन्धानका आधारमा जिल्लाका करिव १५–२० प्रतिशत आत्महत्या गर्नेले पटकपटक प्रयास गरेको देखिन्छ । आत्महत्या गर्न खोज्नेलाई सबैभन्दा धेरै मायाँ गर्ने, एक्लो महसुस हुन नदिने, प्रशंसाको समेत आवश्यकता पर्ने परामर्शदाता बताउँछन् ।

आत्महत्या गर्नेमा पुरुष धेरै
म्याग्दीमा जीवनप्रति चरम निराशाको भाव भएको अवस्थामा आत्महत्या रोज्नेमा महिलाभन्दा पुरुष धेरै देखिन्छन् । आव ०७८÷०७९ मा आत्महत्या गर्ने ३१ जनामा पुरुष २१ जना, महिला ८, बालबालिका २ जना छन् । मानसिक बिचलनबाट १४, मानसिक सन्तुलन गुमाएर ६ जना, दिर्घरोगी ७ जना, प्रेममा असफल र गरिबी २ ले आत्महत्या गरेको प्रहरीको विश्लेषण छ। त्यस्तै अधिकांसले विहान विहान ६ बजेदेखि बेलुकी ६ बजेको समयमा आत्महत्या गरेका छन् ।

यो समयमा आत्महत्या गर्नेमा २४ जना छन भने ७ जनाले अन्य समयमा मृत्यु रोजेको देखिन्छ। आत्महत्याको बाटो रोज्ने धेरै साउन र कात्तिक महिना छन भने साउन–कात्तिकमा १० जना छन् । पुस महिना बाहेक अन्य महिनामा १ देखि ३ जनासम्मले आत्महत्या गरेको देखिन्छ । १९ देखि ४५ वर्ष भित्र उमेरका मानिसहरु आत्महत्याको शिकार बनेका छन् । मानसिक बिचलनका कारण यो उमेरका पुरुष छन् ।

आत्महत्या गर्नबाट जोगाउन सकिन्छ
आत्महत्या गर्ने सोच आइरहेका व्यक्ति चिन्न सकिन्छ र उनीहरूलाई त्यो भयावह घटनावाट बचाउन सकिन्छ भन्ने विषय धेरैलाई थाहा छैन। बेनी अस्पतालमा करिब तीनबर्ष कार्यरत भई हाल काठमाण्डौमा रहेका डा. धिरेन मल्लले जीवनप्रति चरम निराशाको भाव भएकाले आत्महत्या रोज्ने गरेको बताए । ‘धर्य गर्ने क्षमताको विकास नहुदाँ क्षणभरको निर्णयमा आत्महत्या गर्छन्’ डा.मल्लले भने । उनले कुनै पनि कारणले आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई बचाउन सकिने बताउँछन् । उत्पन्न पीडा र यातनाबाट उन्मुक्तिका लागि आत्महत्या बाहेकको विकल्प नदेख्ने गरेकाले पनि विकराल समस्या बनेको बताए ।

आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रूपमा यो सोच आएको विषयमा संकेत दिने र यो समयमा परिवार, साथीभाइको सानो सहयोगले कुनै पनि व्यक्तिलाई बचाउन सकिने, आत्महत्या गर्न खोजेको व्यक्तिले साथीहरूसंग निराशावादी कुरा गर्ने,आत्महत्याको बारेमा कुनै कुरा गर्ने, मर्न मन छ जस्ता कुरा गर्ने भएकाले यस्तो बेलामासहानुभूति दिने, मद्दत गर्ने, स्थितिलाई गम्भीर रूपमा लिने र जोखिम आँकलन गर्नुपर्ने डा. मल्लको भनाई छ ।

‘समाजमा विगतमा घटेका घटनाहरूबाटै पाठ सिक्नुपर्छ । आत्महत्या रोक्न सक्ने धेरै उपायहरु छन्’डा.मल्लले भने । म्याग्दीमा यस्ता घटना न्यूनिकरण गर्न मनोपरामर्शदाताको आवश्यकता रहेको बताए ।तनाव, डिप्रेसन जस्ता मानसिक समस्याहरु आत्महत्याका मार्ग भएकाले यसलाइ्र्र रोकथाम गर्न परिवारबाटै पहिलो प्रयास हुनुपर्नेमा विज्ञहरुको जोड छ ।

Leave a Reply