म्याग्दीको अति दुर्गम धवलागिरि गाउँपालिका–४ मुदीको बगरा र सिमकोसका अधिकांश मतदाता पहिलो पटक मतदानमा सहभागी हुँदैछन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको आमनिर्वाचनका लागि स्थानीय कैलाश आधारभूत विद्यालयमा छुट्टै मतदान केन्द्र तोकिएपछि दुवै गाउँवासीले पहिलो पटक मतदानमा भाग लिन पाउने भएका हुन् ।

धवलागिरी गाउँपालिका–४ मा पर्ने बगराबस्ती पुग्ने घोडेटो बाटो ।यसअघि दुवै ठाउँका मतदाता कम्तीमा ६÷७ घण्टा हिँडेर एक दिन बास बसेर धवलागिरि–४ मुदीस्थित बुद्धिविकास माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्थे । मतदानस्थल टाढा भएकाले वृद्धवृद्धा, अशक्त, सुत्केरी, गर्भवतीहरू मतदानको अधिकारबाट वञ्चित हुँदै आएका थिए । सिमकोस र बगरा धौलागिरि हिमशृंखला पदमार्गको अन्तिम बस्ती हो ।बगराको कैलाश आधारभूत विद्यालय मतदान केन्द्रमा ७४ महिला तथा ८३ पुरुष समेत १ सय ५७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बगराका कम्तीमा एक सय मतदाताले पहिलो पटक मतदानमा भाग लिनेछन् ।

‘गाउँमै मतदान केन्द्र तोकिएपछि जनप्रतिनिधि चुन्न अर्काको पिँढीमा बास माग्न जानुपर्ने दिनको अन्त्य भएको खबरले खुसी छौं । अब यहाँका पाका, गोठ बस्नुपर्ने र शारीरिक अशक्त मतदाताले जीवनमै पहिलो पटक मतदान गर्नेछन्,’ बगराका मतदाता हरि तिलिजाले भने, ‘आजसम्म हामी राजनीतिमा चासो राख्ने र युवा कम्तीमा १२ घण्टा हिँडेर मतदान केन्द्रमा पुग्थ्यौं । जहाँ वृद्धवृद्धा र अपांगले मतदान गर्न मतदान केन्द्र पुग्न सम्भव थिएन ।’फोटोसहितको नामावली संकलन गर्न कर्मचारी नपुगेपछि ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा मतदानबाट वन्चित भएका बगराबासी ०७४ सालको स्थानीय तह निर्वाचनपछि मात्र निर्वाचन प्रणालीमा जोडिएका हुन । ०७४ मा निर्वाचन कार्यालयको टोली पुगेर बगरावासीलाई फोटोसहितको मतदाता नामावलीमा थपेका हुन् । जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि धवलागिरि–४ बगरासमेत जिल्लाका ८ स्थानमा नयाँ मतदान केन्द्र थप गरेको छ । मतदातालाई हिँडेर नजिकको मतदान स्थान (केन्द्र) पुग्न कम्तीमा २ घण्टा लाग्ने स्थानमा जिल्लाको सर्वदलिय सहमतिमा थप मतदान केन्द्र तोकिएको हो ।

निर्वाचन कार्यालयका अनुसार बगरास्थित कैलाश आधारभूत विद्यालय, वडा ७ स्थित किसानी चन्द्रकुन्ता मावि धारापानी, मंगला गाउँपालिका–१ पूर्णगाउँस्थित जनजागृति मावि, वडा ५ को सिर्कुममा नयाँ मतदान केन्द्र तोकिएको छ । त्यस्तै रघुगंगा–२ खरौटास्थित राममन्दिर सामुदायिक स्वास्थ्य केन्द्र तथा सोही गापा–३ को पातेल्नस्थित हिमालय आविमा र अन्नपूर्ण–६ को पोखरेबगर आवि र वडा ८ को काफलडाँडा आधारभूत विद्यालयमा नयाँ मतदान केन्द्र थप भएका हुन् ।

‘सबै मतदातालाई सहज र सुरक्षित रूपमा मतदानस्थल पुग्न र मत खसाल्ने वातावरण बनाउन मतदातालाई सकेसम्म पायक पर्ने गरी मतदान केन्द्र थप गरेका छौं,’ जिल्ला निर्वाचन अधिकृत भीमप्रसाद घिमिरेले भने, ‘हिँडाइ असुविधाकै कारण कोही पनि मतदाता मतदानबाट वञ्चित हुने छैनन् । अब सबै मतदाता आधा घण्टादेखि ४० मिनेटमा मतदान केन्द्र पुग्न सक्ने विश्वास छ ।’

आसन्न आम निर्वाचनमा एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीका ४४ हजार ६४ महिलासहित ८६ हजार १ सय २० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । यीमध्ये ७ सय ४५ मतदाता गत स्थानीय निर्वाचनपछि थपिएका मतदाता हुन् । निर्वाचन आयोगको तथ्यांकअनुसार प्रदेश निर्वाचन क्षेत्र क–मा ४८ हजार ४ सय ७२ र प्रदेश ख निर्वाचन क्षेत्रमा ३७ हजार ६ सय ४५ जना मतदाता छन् ।कान्तिपुरबाट

Leave a Reply