म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा अभिभावक भेला तथा विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा विजयादशमीको पूर्वसन्ध्याको अवसर पारेर अभिभावक भेला, सामाजिक परीक्षण, पुरस्कार वितरण एवं विविध सांस्कृतिक कार्यक्रमहरु गरिएको हो ।

गएको शैक्षिक सत्र–२०७८ सालमा उत्कृष्ट अङ्कसहित कक्षा ११ र १२ उत्तीर्ण हुने सबै विद्यार्थीहरुलाई जनकल्याण मावि अक्षयकोष रकमको व्याजबाट प्रति विद्यार्थीलाई पाँचसय रुपैयाँको दरले ४५ जनालाई शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयलाई नगद एकलाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । उक्त चेक अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदी, सचिव शिव बानियाँ र कोषाध्यक्ष गजिन्द्र श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा कक्षा ११ अध्ययन गर्न आएका नवआगन्तुक २३ जना विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँको पहलमा विद्यालय पोशाक प्रदान गरिएको छ ।

उक्त पोशाक विव्यस अध्यक्ष बानियाँमार्फत काठमाडौंको पुतलीसडकका लुनिभा सटिङ एण्ड सुटिङ टेलरिङका प्रोप्राइटर उद्धव कसजुले आफ्नो स्वर्गीय पिता भवानीशंकर कसजुको स्मृतिमा ६३ हजार रुपैयाँको उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षकको रुपमा शिव बानियाँ र फुलमाया श्रेष्ठलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी पुलाचौरका ज्येष्ठनागरिक एवं जनकल्याण मावि अक्षयकोषका यशस्कर सदस्य दधिलाल पौडेलले कक्षा १२ को बोर्ड परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पुरस्कृत हुने विद्यार्थीहरुमा प्रथम किस्मिता पौडेल, द्वितीय अस्मिता बानियाँ र तृतीय अर्चना सुवेदीलाई जनही पाँचहजार, तीनहजार र दुईहजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गर्नुभयो । त्यस्तै कक्षा १ देखि १० सम्म उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि विद्यालयले पुरस्कृत गरेको जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका स्रोतव्यक्ति जयराम सुवेदीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि शिक्षक, अभिभावक र विद्यार्थी मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले कुनै विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्दा विषयगत शिक्षक, कक्षा शिक्षक, प्रधानाध्यापक, विद्यालय, अभिभावक सबैको इज्जत बढ्ने बताउँदै अभिभावकहरुले पालो लगाएर विद्यालयको अनुगमन गरेमा विद्यालयको शैक्षिक अवस्थामा सुधार आउनेमा जोड दिनुभयो ।

अब गाउँको विद्यालय राम्रो बनाउनका लागि फरक तरिकाले सोच्नुपर्ने अवस्था देखिएकाले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउनेतर्फ ध्यान दिनुपर्ने स्रोतव्यक्ति सुवेदीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले आफ्नो कार्यकालमा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि अक्षयकोषको स्थापना गरेको बताउनुभयो ।

उहाँले हाल अक्षयकोषको रकम जिल्लास्थित विभिन्न बैंकहरुमा ४५ लाख रुपैयाँ निक्षेप राखिएको भन्दै अक्षयकोषको व्याजबाट विद्यालयलाई आर्थिक सहयोग गर्नुका साथै विद्यार्थीहरुलाई २२ हजार पाँचसय रुपैयाँको शैक्षिक सामग्री सहयोग समेत गरिएको जानकारी दिनुभयो। बेनी नगरपालिका–५, पुलाचौरका वडा सदस्य देवीदत्त पौडेलले विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन र लेखा शिक्षक चिरञ्जीवी सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, पूर्व प्रअ तेजप्रकाश बानियाँ, पुलाचौर आमा समूहका अध्यक्ष शान्ति शर्मा र वसन्त आधारभूत विद्यालयका प्रअ खेमराज पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँको अध्यक्षता, शिक्षकद्वय रेशमबहादुर बानियाँको सञ्चालन र फुलमाया श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीतसहित विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply