बडिगाड गाउँपालिकाको आयोजना तथा सर्वसिद्धि मिडिया प्रालिको संयोजनमा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक समीक्षा एवं सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीको तर्फबाट गत आर्थिक वर्ष २०७८/७९ गाउँपालिकाबाट सम्पन्न गरेका कार्यक्रम र खर्च विवरणको प्रगति प्रतिबेदन सार्वजनिक गरिएको थियो ।

गत आर्थिक वर्षको प्रगति समीक्षा गर्न, चालू आर्थिक वर्षको योजनाको कार्यनयनमा मार्गनिर्देशन गर्न, नागरिकका गुनासा सुन्न, योजना सम्झौताबारे जानकारी गराउन र सुशासन पारदर्शिताको कायमका लागि सार्वजनिक सुनुवाइ गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । नागरिकका जिज्ञासा सम्बोधन गर्ने,समयमै योजना सम्झौता गर्नेबारे सुझाउने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । यस्ता कार्यक्रमले सेवा प्रवाहमा सहजता तथा पारदर्शिता कायम हुने विश्वास लिएको छ ।

कार्यक्रममा सहभागीले गाउँपालिकाले लाखौं खर्च गरेर निर्माण गरेका भौतिक संरचनाको संरक्षण गर्न नसकेको, सरकारी सवारीसाधनहरुको सहि ढंगले सञ्चालन गर्न नसकेको भन्दै आगामी दिनमा यस्तो अवस्था सुधार्नुपर्ने सुझाव राखेका थिए ।

सार्वजनिक सुनुवाइमा जिज्ञासा राख्ने अधिकांश सहभागीले पालिकाले प्रबाह गर्ने सेवालाई थप जनमैत्री बनाउन सुझाव राखेका थिए । गाउँपालिकाको आन्तरिक खर्च घटाउँदै जनताको जनजिविका सँग जोडिएका सेवा र आवश्यकताहरुलाई प्राथमिकतामा राखेर सेवा दिनुपर्ने सुझाव दिएका थिए ।

प्रत्येक चौमासिकमा सरकारी कार्यालयले आफ्ना गतिविधि सार्वजनिक गर्नु पर्ने भएपनि बागलुङका अधिकांश स्थानीय तह तथा विषयगत कार्यालयले गरेको पाइदैन् । सार्वजनिक सुनुवाइ ऐन २०५५ को नियमावली २०५६ अनुसार अनिवार्य सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान अनुसार गाउँपालिकाले आगामी प्रत्येक चौमासिकमा नियमित सार्वजनिक सुनुवाइ गरिने गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका गाउँपालिका अध्यक्ष कमलराज आचार्यले गाउँपालिकाले पछिल्लो समयमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेका कामको प्रसंशा गर्नुभयो । गाउँपालिका अध्यक्ष अधिकारीले जनताले महसुस गर्नेगरी काम गरिरहेको र सबै नागरिकको सहयोग र सल्लाह आवश्यक हुने बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरु, कर्मचारी र १० वटै वडाका वडाध्यक्ष, वडा सदस्यहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार र स्थानीय नागरिकको सहभागिता रहेको थियो । समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण सर्वसिद्धि मिडिया प्रालिले गरेको थियो ।

Leave a Reply