सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा म्याग्दीको शनिबार बेनीमा सम्पन्न १२औं साधारणसभा तथा आठौं अधिवेशनले पशुपति शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको उपाध्यक्षमा दिलु घताने, सचिवमा नारायणकुमार बराल, कोषाध्यक्षमा गंगामाया पुन र सहसचिवमा अनिता भण्डारी कार्की चयन हुनुभएको छ ।

यसैगरी शाखाको सदस्यहरुमा सानिमाया कार्की, शर्मिला बानियाँ, तप्तबहादुर विश्वकर्मा, बलराम सुवेदी, बलबहादुर महत र विष्णु गौतम सापकोटा चयन भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाले जनाएको छ । साधारणसभा तथा अधिवेशनको अवसरमा शाखाले ज्येष्ठनागरिक नैनकुमार श्रेष्ठ, प्रहरी हबल्दार गंगाकुमारी कार्की र सञ्चारकर्मी हरिकृष्ण गौतमलाई सम्मान गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले नगरपालिकाको न्यायिक समितिमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखामार्फत आएका मुद्दाको सुनुवाई हुने गरेको बताउनुभयो ।उहाँले समुदायमा मेलमिलापको माध्यमबाट शान्ति स्थापना गर्नका लागि सामुदायिक सेवा केन्द्रले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै यसमा नगरपालिकामार्फत आवश्यक सहयोग हुने बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखालाई स्पष्ट लक्ष्य र उद्देश्यका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।  म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले प्रहरीले मात्र हरेक घटनाको अवलोकन र समाधान गर्न नसक्ने भएकाले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखालाई समुदाय र प्रहरीसँग जोड्नका लागि सामुदायिक सेवा केन्द्रको अवधारणा ल्याइएको बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका–७, बेनीका निवर्तमान वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाका पूर्व अध्यक्ष एवं सल्लाहकार अमृतदेवी बानियाँ, पूर्व अध्यक्ष साधनाकुमारी श्रेष्ठ, ब्रह्माकुमारी विश्वविद्यालयका सञ्चालिका रिना केसी, वीरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ र दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा संस्थाको आजीवन सदस्यता समेत वितरण गरिएको थियो भने कार्यक्रमको उद्घाटनसत्र संस्थाका निवर्तमान अध्यक्ष विष्णु गुरुङको अध्यक्षता, सचिव लक्ष्मण कटुवालको सञ्चालन र सदस्य पशुपति शाहीको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply