म्याग्दीको सदरमुकाम बेनीबजारमा आइतबार गरिएको चाडपर्व लक्षित अनुगमनको क्रममा छ्यापछ्याप्ती म्याद नाघेका सामाग्री भेटिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा गरिएको अनुगमनको क्रममा अधिकांस पसलमा म्याद नाघेका खाद्य सामाग्री भेटिएको अनुगमन टोलीले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको नेतृत्वमा भएको अनुगमनको क्रममा मासु पसल मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ भने पसलहरुपेय पदार्थ, मसला, चाउचाउ, विस्कुट, बालबालिदकाले प्रयोग गर्ने लेर्यस, कुरकुरेका साथै मिठाइ पसलमा म्याद नाघेको र अघिक मात्रामा फोहोर भेटिएको थियो । ‘अब अनुगमनसँगै कडा कारवाही पनि हुन्छ, मासु पसललाई दुईदिनको समय दिएका छौ, सुधार नभए बन्द गर्ने गरी टोली खटिन्छ’ सहायक प्रजिअ शर्माले भन्नुभयो ।

उहाँका अनुसार बजारमा नियमित अनुगमन सहित कारवाहीको प्रक्रियालाई कसिलो बनाउने गरी संयन्त्रको आवश्यकता रहेको बताउनुभयो । अनुगमन टोलीले संगमचोकमा रहेको एक मिठाइ पसल बन्द समेत गरेको थियो । त्यस्तै पसलमा मूल्यसुची नराखेको, म्याद नाघेको सामानहरु राखेको, सरसफाईमा ध्यान नदिनुका साथै विगतमा दिइएको सुझावहरू समेत पूर्णरुपमा पालना नगरेको घरेलु कार्यालयका प्रमुख पोषनाथ शर्माले बताउनुभयो ।

अनुगमन टोलीले चाडपर्वमा धेरै बिक्री हुने क्षेत्रमा थप अनुगमन गर्ने जनाएको छ । अनुगमनमा म्याग्दी उद्योग बाणिज्य संघ ,जिल्ला प्रहरी कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, बेनी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिती रहेको थियो ।

Leave a Reply