यस वर्षको २०औं संस्करण अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता आगामी मंसिरको तेस्रो साता म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । ‘जेसीज कप फुटबल म्याग्दीको शान, नवप्रतिभा पहिचान र क्षमता प्रष्फुटन’ भन्ने मूल नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

आज (सोमबार) म्याग्दी जसीजको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरी आउँदो मंसिर २१ देखि २५ गतेसम्म बेनीको खुल्लामञ्चमा सञ्चालन हुने २०औं संस्करणको जेसीज कप फुटबल प्रतियोगिताबारे जानकारी गराइएको आयोजकले जनाएको छ । दिनेश बानियाँको मूल संयोजकत्वमा विभिन्न १८ वटा उपसमितिहरु गठन गरेर आसन्न प्रतियोगिताको तयारी सुरु गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि कुल सातलाख ५७ हजार दुईसय ३१ रुपैयाँको लागत अनुमान प्रस्ताव गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले बताउनुभयो । प्रतियोगिताबाट विजेता र उपविजेता हुने विद्यालयलाई क्रमशः ५२ हजार दुईसय २२ र उपविजेतालाई ३२ हजार दुईसय ३२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो । यसैगरी उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, कोच, राईजिङ प्लेयर र सर्वाधिक गोलकर्तालाई दुईहजार पाँचसयसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा अनुशासित टिमलाई सातहजार सातसय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ भने सेमीफाइनल पुग्ने दुईवटा टिमलाई पाँचहजार भत्ता उपलब्ध गराइने प्रतियोगिताको मूल संयोजक दिनेश बानियाँले बताउनुभयो । प्रत्येक खेलमा म्यान अफ् द म्याच घोषणा गरी पुरस्कार दिइने प्रतियोगिताको टाइटल स्पोन्सर लालबहादुर केसी अध्यक्ष रहेको गौमती विकास कोष र प्रायोजक लालीगुराँस अफसेट प्रेस रहेका छन् ।

इन्स्योरेन्स पार्टनरतर्फ रिलायबल नेपाल लाईफ र हेल्थ पार्टनरमा बेनी सञ्जीवनी हेल्थ क्लिनीक रहेको शाखा अध्यक्ष खत्रीको भनाइ छ । विद्यालय तहमा लोकप्रिय मानिने जेसीज कप फुटबलको उपाधि यसअघि प्रकाश मावि, बेनी बोडिङ र न्यु वेष्ट प्वाइन्टले ५÷५ पटक र माउण्ट एभरेष्ट माविले ४ पटक जितेका छन् ।

Leave a Reply