दशैंलाई लक्षित गरी काठमाण्डौबाट च्याङ्ग्रा ल्याउन मुस्ताङ आएका कृष्णभक्त श्रेष्ठले स्थानीय कृषकको गोठमै पुगेर एउटा च्याङग्रालाई ४१ हजारमा खरिद गरे । विगत दुईदशक देखि भेडाच्याङ्ग्राको ब्यापारमा लागेका श्रेष्ठले यसपटक मुल्य बढेसँगै ३ सय गोटा मात्रै च्याङ्ग्रा ल्याएका छन् । उनीजस्तै उपल्लो मुस्ताङमा कृषकको गोठमै पुगेर खरिद गरेका पशुपती सिलवालले हरेक बर्ष प्रति गोटा च्याङ्ग्राको मुल्य ३ हजारले बढेको बताए । श्रेष्ठ र सिलवाल काठमाण्डौका पुराना ब्यापारी हुन् ।

उनी दुबैले मुस्ताङबाट पोखरादेखि काठमाण्डौसम्मको बजारमा बिक्रीको लामो समय भएपनि च्याङ्ग्राको मुल्य आकासिएको देखेर चकित परेका छन् । मुस्ताङमा पुगेका पुस्कल सिलवालले समेत गोठबाट उपभोक्तासम्म पुग्दा एउटै च्याङ्ग्राको मुल्य आधा लाख भेट्ने बताउँछन् । ‘यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ,‘रोज्जा च्याङ्ग्रा महंगो भएपनि माग अत्याधिक छ’ ब्यापारी सिलवालले भने ।

भेडाको तुलनामा च्याङ्ग्राको मासु स्वादिलो र धेरै खपत हुने भएकाले नियमित ल्याउने ब्यापारीले अगाडी नै बुकिङ गर्ने भएकाले केही सस्तो पर्ने भएपनि नयाँ ब्यापारीलाई भनेलगानी जुटाउनै हम्मेहम्मे पर्ने गरेको छ ।च्याङ्ग्रालाई बेनी–जोमसोम सडकखण्डबाट ल्याएर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र बेनीबजारबाट ट्रकबाट ढुवानी गर्ने गरिन्छ ।

बेनी मंगलाघाटका खसी ब्यापारी प्रकाश पौडेलले भेडाच्याङ्ग्राको मुल्य बढेपछि यसपटक कम ल्याएको बताए ।‘केही ब्यापारी रित्तै फर्किए,‘उपभोक्तालाई बिक्री गर्ने मुल्य मुस्ताङमै पर्छ’ पौडेलले भने । उनले यसपटक ९८ भेडाच्याङ्ग्रा ल्याएका छन् ।प्रतिकुल मौसमका कारण यसपटक पदैलमार्गमै केही भेडाच्याङ्ग्रा मरेकाले ब्यापारी समेत निराश छन् । उपल्लो मुस्ताङका ब्यापारीले सानो–सानो संख्यामा खरिद गरी बाहिरी जिल्लाबाट आउने ब्यापारीलाई बिक्री गर्न थालेपछि मुल्य बढ्न थालेको ब्यापारी बताउँछन् ।

‘हामीले सिधै गोठबाट किन्न पाइदैन्,‘त्यहाँ नै स्थानीय ब्यापारी खडा हुन्छन्,उनीहरूले फाइदा राखेर हामीलाई दिन्छन्’ एक ब्यापारीले भने । खरीद र ढुवानी नै महँगो परेपछि महँगोमा बिक्री गर्नुपर्ने भएको ब्यापारीको भनाई छ । उपल्लो मुस्ताङ र डोल्पाबाट यसपटक करिब १४ हजार भेडाच्याङ्ग्रा बाहिरिने अनुमान गरिएको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका प्रमुख डण्डपानी शर्माले बताए ।

‘कृषकको गोठमै महंगो छ,‘तिब्वतबाट भेडाच्याङ्ग्रा आउँदैनन्,स्थानीय उत्पादनले बजारको माग पुरा गर्न सक्दैनन्’ प्रमुख शर्माले भने । उनका अनुसार तिब्वतबाट आयात हुने भेडाच्याङ्ग्रा रोकिँदा मुल्य बढेको बताए । उनका अनुसार डोल्पाबाट करिब ५ हजार मुस्ताङकै बाटो बाहिरिने र मुस्ताङबाट ९ हजार निर्यात हुने बताए। उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर भेडापालनको पकेट क्षेत्र मानिन्छ ।

मुस्ताङभन्दा तिब्वती च्याङ्ग्राको स्वाद तथा तौल र मुल्य नै फरक हुने भएकाले मुस्ताङी ब्यापारीले समेत तिब्वती भेडाच्याङ्ग्रा ल्याउन खोजेपनि विगतका बर्षमा जस्तै अन्तरदेशीय मेलाको आयोजना नहुनु र तिब्वती पक्षबाट निर्यातमा कडाईले स्थानीय ब्यापारी समेत समस्यामा छन् ।

प्रयाप्त चरन क्षेत्र, बजार मुल्य, प्राविधिक सहयोग सहित कृषकहरूको भेडापालनप्रतिको आर्कषणले विगतका तुलनामा भेडाच्याङ्ग्रा पालनमा आर्कषण बढेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रले उपल्लो मुस्ताङको लोमान्थाङ, छुसाङका साथै जोमसोम, लेते र म्याग्दीसँग सिमाना जोडिएको घाँसामा चेकजाँच केन्द्र राखेको छ । जसबाट स्वास्थ्य परिक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीकोलागि अनुमती दिइएको छ। मुस्ताङ र म्याग्दीका नाकामा पशु प्राविधिकको टोलीले तथ्याङ्क संकलनसँगै स्वास्थ्य परिक्षणमा खटिएका छन् ।

 

Leave a Reply