कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अघिल्लो चुनावमा कुश्मामा विदेशी स्टाइलको बसपार्क निर्माण गरिने र त्यो सामान्य खालको नभएर तीन तलाको हुने कथा सुनाउनुभएको थियो । बस बिसाउन मिल्ने समथर ठाउँ भए मात्र पनि हुन्थ्यो भनेर बसेका यातायात व्यवसायी र कुश्मावासी तीनतलाको बसपार्क बन्ने थाहा पाएपछि दङ्ग पर्ने नै भए ।

बागलुङ, म्याग्दी र मुस्ताङ पुग्ने मुख्य नाकाको रुपमा रहेको कुश्मामा राजमार्ग बनेको तीन दशकसम्म पनि बसपार्क बन्न सकेको छैन । दोस्रो पटक पनि नगर प्रमुखमा निर्वाचित बनेपछि जोशीले तीनतले बसपार्कको काम अघि बढाइने कुरा फेरि दोहो¥याउनुभयो । उहाँले कुश्मा नगर बहुुउद्देश्यीय बसपार्क तथा सिटी हल निर्माण गरिने कुरा बजेट वक्तव्यमा समावेश गर्नुभएको भए पनि धेरैले बसपार्क निर्माण हुने कुरामा भने शङ्का गर्न थालेका छन् ।

उसो त प्रदेश र सङ्घको चुनावमा भिडेर जितेकाले समेत बसपार्क निर्माण गर्न सकेनन् । एमालेका सांसद पदम गिरीले गएको सङ्घीय चुनावका बेलामा गाउँमा भाषण गर्दै भन्नुभएको थियो, “गाउँगाउँ पुग्ने बाटा चिल्ला बन्नेछन्, अर्को पटक फेरि भोट माग्न आउँदा फोरह्विल गाडीमा सकिनसकी आउने होइन, साइकलमा सररर।।। भोट माग्न आउने छु ।” तर गाउँ पुग्ने बाटा आज पाँच वर्षपछि पनि लगभग जस्ताको तस्तै नै छन् ।

“बसपार्कका लागि जमिन पनि छुट्याइएको छ, सामान्य बस पार्किङ गर्न मिल्ने बिसौनी बनाइदिएको भए पनि हुन्थ्यो, बाटो चाक्लो मात्र बनाएर के गर्नु सबै गाडी बाटोमै लाइन लगाएर पार्किङ हुन्छन्,” स्थानीय युवा विकास पौडेलले आक्रोश पोख्नुभयो, “नेताहरुले सस्तो लोकप्रियताका लागि पूरा नहुने सपना बाँडेका छन् ।”

बसपार्क निर्माणका लागि कुश्मा नगरपालिका–६ मा शिवालय धार्मिक विकास गुठीले १२ रोपनी जग्गा छुट्याएको पनि डेढ दशकभन्दा बढी भयो । अहिले त्यहाँ वरपर फोहोर र झाडीले भरिनाका साथै ढुङ्गा, माटोको थुप्रा, निर्माण सामग्रीलगायतका वस्तु राख्ने स्थान बनेको छ । “हामीले सार्वजनिक जग्गा चाहिन्छ भनेर लडेर बचाएको जग्गा हो ।”, बसपार्क निर्माण समितिका अध्यक्ष एकनारायण गिरीले भन्नुभयो, “नेताहरुले पहल गर्नुपर्ने हो त्यो देखिएन । तत्कालीन जिल्ला विकास समिति हुँदा धेरथोर रकम ल्याएर खन्ने सम्याउने काम गरेका थियौँ । करोडौँ रकम लाग्ने बसपार्कलाई एकलाख, दुईलाखले छिस्स पनि हुन्नथ्यो, अहिले त्यही काम पनि भएको छैन ।”

बसपार्क नहुँदा सबैभन्दा बढी मारमा चाहिँ छोटो दूरीमा गुड्ने सार्वजनिक सवारी साधन पर्ने गरेका छन् । कुश्मादेखि बागलुङ र जिल्लाका विभिन्न गाउँमा पुग्ने सवारी साधनले बसपार्कको अभावमा सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दै आएका छन् । “हामीलाई पनि बीच सडकमा गाडी राखेर यात्रु चढाउने र ओरालने रहर त छैन नि ।”, बस चालक हेमन्त गुरुङले भन्नुभयो, “जहाँ पायो त्यहीँ गाडी रोक्छस् भन्दै बिहान बिहानै ट्राफिकको नमिठो गाली सुन्ने मन कसलाई हुन्छ र, फेरि बाटो छेउका पसलेले पनि जहाँ पायो त्यहीँ गाडी रोकेर हाम्रो पसल छेक्ने भन्दै बाझ्न आउँछन् ।”

व्यवस्थित बसपार्क नहुँदा ट्राफिक प्रहरीलाई पनि सास्ती भएको छ । मुख्य राजमार्गमा छेउछाउँमा मनलाग्दी गरिने पार्किङदेखि बजारभित्रका साँघुरा बाटोको दुई छेउँमै गरिने पार्किङले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ थियो । “व्यवस्थित बसपार्क नहुँदा सवारी साधनले मनलाग्दी पार्किङ गरिरहेको भए पनि हाम्रोतर्फबाट व्यवस्थापन गर्न सक्दो प्रयास गरेका छौँ”, ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेले भन्नुभयो, “जथाभावी सडकमा गरिने पार्किङबाट लामा दूरीका सवारी साधनलाई लगभग हटाइसकेका छौँ, तर लोकल रुटमा चल्ने सवारी साधनलाई हटाउनका लागि उनीहरुलाई पार्किङको विकलप दिनुपर्ने हुन्छ, जुन हाम्रो लेबलबाट सम्भव छैन ।”

पछिल्लो दिनमा कुश्मालाई साहसिक पर्यटनका लागि उपयुक्त स्थानको रुपमा लिने गरिन्छ । पर्यटकको बाक्लो चहलपहल पनि हुँदै आएको छ । अध्ययन भ्रमणदेखि घुम्न र रमाइलो गर्न आउने पर्यटकका सवारी साधन पार्किङ स्थलको अभावमा सडकमै राख्नुपर्ने अवस्था छ । “बसपार्क पर्वतको पहिचानसँग पनि जोडिएको कुरा हो”, पर्यटन व्यवसायी नेत्र पराजुलीले भन्नुभयोे, “कुश्मा आउने पर्यटकले आफ्नो सवारी साधन सही तरिकाले पार्किङ गर्ने ठाउँ पाउँदैनन् भने जिल्लाको अवस्था कस्तो रैछ, कुश्मावासीको बुझाइ कस्तो रैछ र नेताको चरित्र कस्तो खालको रैछ भन्ने कुरा हाम्रो इज्जतसँग जोडिएको हुँदैन र रु”

मनलाग्दी गरिने सवारी साधनको पार्किङले बजारलाई डिष्ट्रव गरेको पर्वत उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो । “व्यवस्थित बसपार्क नहँुदा बजारमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “घुम्न आएकाले ल्याएका गाडी बसपार्कमा राखेर बजार हेर्दै कुश्मामा रहेका पर्यटकीय स्थलहरु पुग्न सक्थे यसले बजारको व्यापार व्यवसाय पनि बढ्ने थियो ।”

नगरपालिकाले तीनतले बसपार्क निर्माणका लागि तीन वर्ष पहिले रु ७७ करोडभन्दा बढी लागतको स्टिमेटसहितको डिपिआरसमेत तयार गराएको थियो । बसपार्कको तल्लो तलामा बस राख्ने, दोस्रो तलामा साना सवारी साधन राख्ने र सबैभन्दा माथिल्लो तलामा चाहिँ १२ सय अट्ने सिटी हल निर्माण गर्ने नगरपालिकाको महत्वकाङ्क्षी योजना थियो ।

आधुनिक तीनतले बसपार्क निर्माणको तयारी अघि बढी रहेको कुश्मा नगरपालिकाको भनाइ छ । बसपार्कको लागि लगानी बढी भएको हुँदा नगर विकास कोषसँग ऋणका लागि भेटघाट र छलफल भइरहेको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताउनुभयो । “बान्द्रविडी चौरसहित १५ रोपनी जग्गा बसपार्कका लागि छुट्याएका छौँ”, उहाँले भन्नुभयो, “नगर विकास कोषले चाहिँ संरचना बनाउने मात्र नभई त्यसको मुनाफा कति वर्षमा उठाउन सक्छ भन्ने मूल्याङ्कन गर्छ । तयसपछि बल्ल काम अघि बढ्ने हो ।”

आफूहरुको कार्यकालमा तीनतले बसपार्क बनेरै छाड्ने कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले बताउनुभयो । “हामीले मेयर साहेव राष्ट्रियसभाका अध्यक्ष, इन्जिनियरसहित नगर विकास कोषको टोलीसँग छलफल पनि गरेका थियौँ”, उहाँले भन्नुभयो, “जग्गा टुङ्ग्याउने कामको प्रक्रिया अघि बढी रहेको छ । नगर विकास कोषले ऋण दिने कुरा भएको छ, अब तीनतलाकै बसपार्क बनेरै छाड्छ ।” रासस

Leave a Reply