रोजगारीका लागि साउदी अरेबियामा रहेका पर्वतका तीन सहित चार युवा सुतेको ठाउँमा नै मृत भेटिएको घटनामा परिवारका सदस्यले हत्या भएको आशंका गरेका छन् । कोठामा अक्सिजनको कमीका कारण मृत्यु भएको भनिएका आफ्ना  सदस्यहरुको मृत्युको कारण सामूहिक हत्या हुन सक्ने आशंका परिवारले गरेका हुन्  ।

साउदी अरेबियाको निजी माहुरी फार्ममा काम गर्दै आएका पर्वतको फलेबास नगरपालिका वडा नं ३ शंकरपोखरीका गोपीराम भुसाल, सुनिल भुसाल र फलेबास नगरपालिका वडा नं ७ लिमिठानाका रामप्रसाद सापकोटा तथा सर्लाहीका अष्ट तामाङको सुतेकै अवस्थामा गएको साउन १० गते राती मृत्यु भएको थियो । मृतक चार जनाको शव  पाँच दिन पहिले नेपाल आएको छ ।

साउदीको अल्कासिम अनेजामा माहुरी फार्ममा काम गरिहेका चार नेपालीलाई कम्पनीमा नै ६ महिना पहिले देखि काम गर्दै आएका इजिप्टका नागरिकले रिसइबीका कारण खानामा विष राखेर मारेको आशंका मृतक गोपीका भाइ दीपेन्द्र भुसालले बताउनुभयो । मृतक गोपीराम उक्त कम्पनीमा १७ वर्ष देखि कार्यरत हुनुहुन्थ्यो ।

भुसाल परिवारका मामाले ३७ वर्ष पहिले काम गरेपछि भुसालका आफन्त र परिवारका सदस्यले नै उक्त फर्ममा काम गर्दै आएका थिए । तर ६ महिना पहिले आएका इजिप्टका नागरिकलाई काममा राखेपछि नेपाली र उनका बिचमा निरन्तर मन मुटाव हुँदै आएको दीपेन्द्रले बताउनुभयो ।

हाम्रो परिवार र आफन्तले १२ घार माहुरी हुँदा देखि काम गरेर अहिले सम्म सम्पन्न बनाएको फर्ममा नयाँ मान्छे राखेर उसलाई नै नेतृत्व दिएपछि उसको व्यवहार मन नपरेर मनमुटाब हुँदै आएको थियो, सोही फर्ममा पाँच वर्ष काम गरेर फर्कनु भएका भाइ  दीपेन्द्रले भन्नुभयो सोही कारण इजिप्टका कामदारले खानामा विष राखेर मारेको आशंका हामीलाई छ । गोपी सँग १० गते राती सम्म सम्पर्क भएको तर साउन ११ गते बिहानै मृत्यु भएको खबर सुन्नु परेको थियो ।

प्रहरी प्रतिवेदनमा कोठामा अक्सिजनको मात्रा कम भएका कारण उनीहरुको मृत्यु भएको उल्लेख भएको स्थानीय  समाजसेवी लक्ष्मीप्रसाद भुसालले बताउनुभयो । कामदार सुत्ने कोठामा एसी जडान गरिएको थियो । २ दशमलव ५ लिटर क्षमताको जेनेरेटरबाट बिद्युत् आपूर्ति हुँदै आएको थियो ।

उक्त दिन जेनेरेटर खुल्लै रहेको तर एसीको रिमोट थिचिएर एसी चलेपछि तेल सकिएर कोठामा अक्सिजनको मात्रा कम हुन नसक्ने दाबी भाइ दीपेन्द्रको छ । ‘थोरै पेट्रोलको धुवाँले मान्छेको मृत्यु हुने अवस्था देखिन्न, षडयन्त्र गरेर मारिएपछि मिलेमतोमा यस्तो प्रतिवेदन बनाइएको हो ।’उहाँको दाबी छ । उहाँले मालिकको भने यसमा कुनै दोष नभएको बताउनुभयो ।

मृत्यु भएका गोपीराम भुसालका श्रीमती, १४ बर्षकी छोरी र ११ वर्षका छोरा छन्  ।  २५ वर्षीय रामप्रसाद विवाहित  हुनुहुन्थ्यो भने २४ वर्षीय सुनिल भुसाल भने अविवाहित हुनुहुन्थ्यो । मृतकका परिवारले अहिले क्षतिपूर्ति पाउन समेत समस्या भएको छ । माहुरी फार्म दर्ता नगरी चलाएको र कामदारको मृत्यु ड्युटी अवधिमा नभएका कारण क्षतिपूर्ति पाउन समेत समस्या भएको दाबी परिवारको छ

Leave a Reply