बेनी नगरपालिकाले म्याग्दीमा शाखा रहेका बैंक तथा वित्तिय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्ने रकम विपन्न महिला, मजदुरको हितमा लगाउन अनुरोध गरेको छ ।

सदरमुकाम बेनीबजारमा रहेका निजी तथा सरकारी बैंकका शाखा प्रबन्धकसँग भएको छलफल कार्यक्रममा नगरपालिका गरिबीको पहिचानको क्रममा समेत छुटेका अति विपन्न १ सय महिलाको स्वास्थ्य विमा, दैनिक ज्यालामजदुरीमा संलग्नलाई वित्तिय साक्षरता कार्यक्रम, बेनीबजारभित्र समेत विभिन्न रचनात्मक कार्यमा सघाउन अनुरोध गरिएको थियो ।

नगर प्रमुख सुरत केसीले वित्तिय संस्थाको सीएसआरलाई अव नगरसँग समन्वय गरी काम गरिदिन अनुरोध गर्नुभएको थियो। ‘अब तपाईहरुको कार्यक्रमलाई विपन्नको जिवनस्तर उकास्ने कार्यमा लक्षित गरी सहयोग गरिदिनुहोस्,‘हामीले पनि वित्तिय संस्थासँगै सहकार्य गरी विभिन्न कार्यक्रम गछौं’ मेयर केसीले भन्नुभयो।

बेनी नगरपालिकाभित्र दैनिक ज्यालामजदुरीमा काम गर्नेको बैंक खाता नभएकाले दैनिक खर्च गर्ने, बचतका बारेमा कुनै जानकारी नभएकाले मजदुरका बालबालिकाको शिक्षादीक्षा सहित अन्य दैनिक आवश्यकताहरु पूरा गर्न समस्या भएकाले विपन्नसँग वित्तिय साक्षरता कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।

नगरपालिकाले बैंक तथा सहकारीसँगको समन्वय र सहकार्यमा केही सामाजिक कार्यहरु गर्ने गरी योजना अन्तरगत छलफल गरिएको हो । छलफलमा उपमेयर ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, बैंकका प्रबन्धक सहितको उपस्थिती रहेको थियो ।

बैंकका शाखा प्रबन्धकले सीएसआर सम्बन्धी कार्य केन्द्रिय बैंकबाट नै सञ्चालन हुने भएकाले यहाँबाट प्रस्ताव गर्न सकिने भन्दै सहकार्यका लागि तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

म्याग्दीमा रहेका बैंकका अधिकांस शाखाले खासै सामाजिक उत्तरदाहित्वका क्षेत्रमा खर्च गर्न गरेका छैनन् । हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम सीएसआर कोष खडा गरी जम्मा गर्नुपर्ने व्यवस्था गरिएकोमा केन्द्रिय कार्यालयबाट नै अधिकांस खर्च गर्ने गरिएको छ ।

 

Leave a Reply